काठमाडौं । नेपालमा सञ्चालन रहेका दुई पुनर्बीमा कम्पनी नेपाल र हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विभिन्न क्षेत्रमा ३७ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेका छन् ।
सरकारी स्वामित्वको नेपाल पुनर्बीमा र निजी क्षेत्रद्वारा सञ्चालित हिमालयन रि इन्स्योरेन्सबीच बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, पब्लिक कम्पनीको साधारण सेयर, विभिन्न सौर्य ऊर्जा, शिक्षा स्वास्थ्य, इन्भेष्टमेन्ट कम्पनी लगायतका क्षेत्रमा लगानी गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार हिमालयन रि इन्स्योरेन्सको लगानी बढी रहेको छ । पहिलो त्रैमासमा कम्पनीको विभिन्न क्षेत्रमा १८ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ लगानी रहेको छ । नेपाल पुनर्बीमा कम्पनीले १८ अर्ब ८२ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ ।
दुई पुनर्बीमा कम्पनीहरूले राष्ट्र बैंकबाट अनुमतिप्राप्त ‘क’ वर्गको बैंकको मुद्दति निक्षेपमा २४ अर्ब २६ करोड ३९ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै ‘ख’ वर्गको बैंकको मुद्दति निक्षेपमा १ अर्ब १६ करोड रुपैयाँ र ग वर्गको बैंकको मुद्दती निक्षेपमा १५ करोड रुपैयाँ लगानी गरेका छन् ।
कम्पनीहरूले नागरिक लगानी कोषमा १ अर्ब ३४ करोड ४७ लाख रुपैयाँ, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा एक अर्ब पाँच करोड रुपैयाँ, अन्य संस्थापक सेयरमा ८२ करोड १५ लाख रुपैयाँ, सूचीकृत नभएका अन्य पब्लिक कम्पनीहरूको सेयरमा ५० करोड ७२ लाख रुपैयाँ र अन्य लगानी ६५ करोड ४७ लाख रुपैयाँ लगानी गरेका छन्।