निजी क्षेत्रको मनोबल नउठेसम्म अर्थतन्त्र चलायमान हुँदैन : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथि उठाउँदै विश्वास पुनःस्थापना गर्नु आजको मुख्य आवश्यकता भएको बताएका छन् ।

नवलपुर उद्योग वाणिज्य संघको ११औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले राजनीतिक अस्थिरता, असुरक्षा र अन्योलका कारण आर्थिक गतिविधि चलायमान हुन नसकेको उल्लेख गरे । उनले निजी क्षेत्रको मनोबल नउठेसम्म आर्थिक गतिविधि चलायमान हुन कठिन हुने धारणा राखे ।

हरेक आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योग–व्यवसायमा प्रहार हुने गरेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष ढकालले यस्तो अवस्थाले लगानी वातावरण थप कमजोर बनाउने बताए । नेपालमा व्यवसायीले गरेको योगदानभन्दा नकारात्मक प्रचार बढी हुने गरेको उल्लेख गर्दै यस प्रकारको धारणा परिवर्तन आवश्यक भएको उनको भनाइ थियो ।

'देशमा सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र हो, राजस्वमा योगदान गर्ने पनि निजी क्षेत्र नै हो । तर हरेक आन्दोलनमा निजी क्षेत्र नै तारो बन्ने गरेको छ । अब जुनसुकै प्रदर्शन वा आन्दोलनमा निजी क्षेत्रमा आगजनी र तोडफोड गर्नु हुँदैन भन्ने सन्देश आमरूपमा प्रवाह गर्नुपर्छ,' अध्यक्ष ढकालले भने ।

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको गलत घुसपैठबाट उद्योग–व्यवसायदेखि उद्यमी–व्यवसायीका शयनकक्षसम्म आगलागी, लुटपाट र अर्बौँ रुपैयाँको क्षति भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस्ता घटनामा दण्डहीनताले प्रश्रय पाउन नहुनेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा धेरै नीतिगत सुधार भएका छन् भन्दै उनले नेपालमा अथाह सम्भावना रहेको र ती सम्भावनाबाट नेपालमै अवसर सिर्जना गर्नुपर्ने बताए । ठूला पूर्वाधार परियोजनाका लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्र मुख ताकेर नहुने उल्लेख गर्दै देशमै छरिएर रहेको पूँजी एकत्रित गरी पूर्वाधार तथा उद्यमशीलताको विकास गर्नुपर्ने धारणा राखे ।

त्यसैका लागि महासंघको पहलमा १० अर्ब रुपैयाँ पूँजीको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरी काम सुरु गरिएको जानकारी दिँदै अध्यक्ष ढकालले यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि पूँजीको अभाव नहुने बताए । उनले नवलपरासीको धौवादी फलाम खानी सञ्चालनका लागि पनि सहकार्य गर्न सकिने धारणा व्यक्त गरे ।

महासंघको आग्रहमा सरकारले जिल्ला सुरक्षा समितिमा महासंघका प्रतिनिधि सहभागी गराएको जानकारी दिँदै अध्यक्ष ढकालले यसलाई प्रभावकारी बनाउन जिल्ला नेतृत्वलाई आग्रह गरे । नवलपुर जिल्लामा कृषि, पर्यटन, ऊर्जा तथा साना तथा मझौला उद्योगमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय बढाएर ती सम्भावनालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

Share News