पुस १० गते त्रिविको ५१औँ दीक्षान्त, करिब ४२ हजारको सहभागिता हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी पुस १० गते ५१औँ दीक्षान्त समारोह आयोजना गर्ने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत त्रिविले गत शैक्षिक सत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि (पीएचडी) तह उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि दीक्षान्त समारोह आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

त्रिविका अनुसार २०८१ असार १ गतेदेखि २०८२ जेठ ३१ गतेसम्मको एक शैक्षिक सत्रमा विभिन्न तह उत्तीर्ण गर्ने विद्यार्थीको संख्या ८९ हजार १९९ रहेको छ । तीमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन औपचारिक रूपमा आवेदन दिएका छन् ।

आवेदक विद्यार्थीमध्ये स्नातक तहमा ११ हजार २३४ जना, अधिस्नातक तहमा १४ जना, स्नातकोत्तर तहमा ४ हजार ८६० जना, दर्शनाचार्य तहमा १२० जना तथा विद्यावारिधि (पीएचडी) तहमा १५२ जना रहेका छन् ।

यसैगरी, २३ हजार ९८० जना अभिभावक तथा संरक्षकले पनि सहभागिताका लागि आवेदन दिएका छन् । आमन्त्रित अतिथि तथा अन्य सहभागीहरू समेत गरी करिब ४२ हजार जनाको उपस्थिति रहने अनुमान गरिएको त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले जानकारी दिए ।

रजिस्ट्रार रिजालका अनुसार त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले आयोजना गर्न लागेको यो दीक्षान्त समारोह अनुमानित संख्यामा सम्पन्न भए त्रिविको इतिहासकै सबैभन्दा ठूलो दीक्षान्त समारोह हुनेछ ।

दीक्षान्त समारोहका अवसरमा करिब २५ प्रकारका दीक्षान्त पदक तथा पुरस्कारहरू वितरण गर्ने तालिका रहेको पनि उनले बताए । समारोहमा ५२ जना सिनेट सदस्यहरू गाउनसहित औपचारिक पोशाकमा सहभागी हुनेछन् ।

Share News