काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।
बैठकमा महासचिव शंकर पोखरेलले पार्टीका भावी संगठनात्मक संरचना, कार्यदिशा र आन्तरिक व्यवस्थापनसम्बन्धी महत्त्वपूर्ण निर्णयहरूबारे जानकारी गराए ।
बैठकले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य तथा पदाधिकारीहरूलाई समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको उनले बताए ।
महासचिव पोखरेलका अनुसार पार्टीको दीर्घ अनुभव, वैचारिक निरन्तरता र संगठनात्मक मार्गदर्शनलाई संस्थागत गर्न परिषद् गठन गर्ने निर्णय गरिएको हो ।
परिषदमा पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्य तथा अनुभवी नेताहरू रहने उनले जानकारी दिए ।
अध्यक्ष ओलीले पार्टीलाई आगामी राजनीतिक चुनौतीहरू सामना गर्न सक्षम बनाउने गरी काम गर्न निर्देशन दिएको उनले बताए ।
बैठकमा पार्टी संगठनलाई सबै तहमा मजबुत बनाउने, महाधिवेशनबाट आएको जनादेशलाई व्यवहारमा उतार्ने तथा पार्टीभित्र एकता र अनुशासन कायम गर्ने विषयमा विशेष जोड दिइएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
केन्द्रीय कमिटी बैठकमा पार्टीका विभिन्न विभागहरूको पुनर्संरचना, जिम्मेवारी बाँडफाँड र कार्यविधि तय गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ । आवश्यक तयारीपछि विभागीय प्रमुख तथा सदस्यहरू तोकिने जनाइएको छ ।
बैठकमा आगामी बैठक र कार्ययोजना सम्बन्धमा पनि छलफल भएको छ पार्टीको अर्को बैठक पुष २६ देखि २९ सम्म बस्ने निर्णय भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।