काठमाडौं । नेपाल विश्वविद्यालयले पहिलो शैक्षिक कार्यक्रमका रूपमा ‘मास्टर अफ पब्लिक पोलिसी’ मा भर्ना खुला गरेको छ ।
राज्यका निकाय, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संस्था तथा अन्य गैरसरकारी क्षेत्रलाई आवश्यक सार्वजनिक नीतिमा सक्षम र प्रतिस्पर्धी जनशक्ति तयार गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको विश्वविद्यालयले जनाएको छ ।
विषयवस्तुको गहिरो ज्ञान, विश्लेषणात्मक दक्षता र नीति निर्माणका व्यवहारिक सीपलाई समेटेर यो दुई वर्षे पूर्णकालीन शैक्षिक कार्यक्रम तयार गरिएको विश्वविद्यालयका रजिस्ट्रार सूर्यराज आचार्यले जानकारी दिए ।
ख्यातिप्राप्त विदेशी विश्वविद्यालयका प्राज्ञ तथा सार्वजनिक नीति क्षेत्रका विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागितामा यस कार्यक्रमको पाठ्यक्रम विकास गरिएको हो ।
आचार्यका अनुसार विद्यार्थी केन्द्रित पठनपाठन पद्धति र अन्य प्राज्ञिक तथा बौद्धिक गतिविधिहरूमार्फत सार्वजनिक नीति क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बौद्धिक नेतृत्व तयार हुने अपेक्षा गरिएको छ ।
यो कार्यक्रम नेपाल विश्वविद्यालयको पहिलो शैक्षिक कार्यक्रम भएकाले पहिलो ब्याचका लागि उल्लेख्य संख्यामा छात्रवृत्तिको व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।
गुणस्तरीय शिक्षाको आधारमा पेशागत विकासको चाहना राख्ने विद्यार्थी तथा यस क्षेत्रमा आफ्नो दक्षता अभिवृद्धि गर्न चाहने पेशाकर्मीहरूले २०८२ माघ ८ सम्म भर्नाका लागि आवेदन दिन सक्नेछन् ।
गुणस्तरीय शिक्षा र व्यवहारिक सीपमार्फत आर्थिक–सामाजिक रूपान्तरणमा सक्षम तथा प्रतिबद्ध जनशक्ति तयार गर्ने उद्देश्यले नेपाल विश्वविद्यालय स्थापना भएको हो ।