काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निर्वाचन शुक्रबार (आज) बाट सुरु भएको छ । एक उपाध्यक्ष र आठ सदस्य छनौटका लागि निर्वाचन हुन लागेको हो ।
काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी दुई चरण हुन लागेको काउन्सिलले जनाएको छ । निर्वाचनको पहिलो चरण अन्तर्गत आज र भोलि उपत्यका बाहिर निर्वाचन हुने जनाइएको छ ।
निर्वाचन समितिका अनुसार कोशी प्रदेशमा रहेका मतदान केन्द्र मेची प्रादेशिक अस्पताल, भद्रपुर, झापा, मधेश प्रदेशका मतदान केन्द्रहरूमा गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज, सप्तरी, लहान जिल्ला अस्पताल लहान, सिराहामा आज निर्वाचन भइरहेको छ ।
त्यसैगरी, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर, लुम्बिनीको भीम अस्पताल, भैरहवा, रुपन्देहीमा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, दाङ, कर्णालीको सुर्खेत प्रादेशिक अस्पतालमा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पनि आज मतदान हुँदैछ ।
भोलि जिल्ला अस्पताल पाल्पा, भेरी अस्पताल, नेपालगञ्ज, बाँके, सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा भोलि शनिवार मात्र मतदान हुनेछ ।
यस्तै, कोशी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी, जनकपुर प्रादेशिक अस्पताल, जनकपुरधाम, धनुषा, नारायणी अस्पताल, वीरगञ्ज, पर्सा, भरतपुर अस्पताल भरतपुर, चितवन, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रुपन्देहीमा शुक्रबार र शनिबार दुबै दिन मतदान गर्न सकिने छ ।
काठमाडौं उपत्यकामा भने पुष ११ र १२ गते हुनेछ । आज धुलिखेल अस्पताल, धुलिखेल, काभ्रे र राष्ट्रिय सभा गृह र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा हुँदैछ ।