स्याउ बिमा भुक्तानीमा ढिलाइ, जुम्लाका चार हजार किसान मारमा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको जुम्ला शाखाले स्याउ बिमा गरेका अधिकांश किसानका बगैंचा समयमै अनुगमन नगर्दा जुम्लाका हजारौं स्याउ किसान प्रभावित भएका छन् ।  दुई वर्षअघि गरिएको बिमाबापतको रकम हालसम्म भुक्तानी नपाउँदा जिल्लाका करिब चार हजार किसान मारमा परेका हुन् । 

बिमित किसानका अनुसार कम्पनीले वास्तविक मूल्याङ्कनका क्रममा स्याउ बगैंचाको स्थलगत लागत सङ्कलन गरी कागजात तयार पारे पनि भुक्तानी दिन आलटाल गरिँदै आएको छ। लागत सङ्कलनकै क्रममा छुटेका किसानका बगैंचा अहिलेसम्म अनुगमन नहुँदा बिमा भुक्तानी प्रक्रिया अन्योलमा परेको छ । 

बिमाबापतको रकम पाउन ढिलाइ भएपछि किसानहरू आक्रोशित बनेका छन् । स्याउ बिमा भुक्तानीको माग गर्दै दिनहुँ खलङ्गा बजारस्थित शिखर इन्स्योरेन्सको कार्यालयमा बिमित पक्ष धाइरहेका देखिन्छन् । 

तीला गाउँपालिका-२ का स्थानीय राम रावतले श्रीमतीको नाममा २०० स्याउका बिरुवा बिमा गर्दा ९ हजार रुपैयाँ तिरेको बताए । 

‘गाउँ–गाउँमा अनुगमन गर्न कम्पनीका कर्मचारी आए तर मेरो बगैंचामा आएनन्,’ उनले भने, ‘कम्पनीकै कमजोरीका कारण बिमाबापतको रकम पाउन कठिन भएको छ। किसान मारमा परेका छौं, यसको सुनुवाइ हुनुप¥यो । ’

यस्तै तीला गाउँपालिका–१ रारा निवासी सुन्दरी पाण्डे (रावत) ले २५० बिरुवा बिमा गर्दा ९ हजार रुपैयाँ तिरेको तर सबै कागजात बुझाउँदा पनि भुक्तानी नपाएको गुनासो गरिन् । 

‘कम्पनीमा सम्पर्क गर्दा बगैंचा अनुगमन नभएको भन्दै गैरजिम्मेवार जवाफ दिइयो,’ उनले भनिन् । वडाको सिफारिससहित निवेदन दिएको एक हप्ता बितिसक्दा पनि कुनै सुनुवाइ नभएकोमा उनले दुःख व्यक्त गरिन् । 

बिमितहरूबाट निरन्तर गुनासो आएपछि कम्पनीका कर्मचारीले केन्द्रीय कार्यालयमा पठाइएका फाइल सदर भई आएपछि सबै किसानलाई भुक्तानी दिइने बताउँदै आएका छन् । 

यसै सन्दर्भमा शिखर इन्स्योरेन्स जुम्ला शाखाका कार्यालय प्रमुख लक्ष्मण काफ्लेले अनुगमनका क्रममा सम्पर्कमा नआएका किसानलाई तत्काल भुक्तानी दिन नसकिएको स्पष्ट पारे ।

व्यक्तिगत निवेदन र वडाको सिफारिसका आधारमा पुनः अनुगमन गरी बिमाबापतको रकम भुक्तानी गरिने प्रतिबद्धता उनले व्यक्त गरे । 

कम्पनीका अनुसार जुम्लामा ५ हजार ३७९ जना किसानले स्याउ बिमा गराएकामध्ये हालसम्म ६५५ जनाले मात्र क्षतिपूर्ति पाएका छन् । ९४७ जनाको प्रक्रिया पूरा भई भुक्तानीको चरणमा रहेको र बाँकी किसानका बगैंचाको पुनः अनुगमन तथा मूल्याङ्कन गरी सबैलाई भुक्तानी दिने प्रतिबद्धता कम्पनीले जनाएको छ । 

Share News