हिङमाङ एकता समाजद्वारा महायज्ञ भव्य रूपमा सम्पन्न

काठमाडौं । हिङमाङ एकता समाज खोटाङको आयोजनामा सनातन वैदिक धर्म, आध्यात्मिक चेतना र सामाजिक एकताको गहिरो सन्देश बोकेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । गत मंसिर २१ गतेदेखि मंसिर २७ गतेसम्म महायत्र आयोजना सम्पन्न गरिएको आयोजक कुमार हेङमाङले जानकारी दिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित कन्चने डाँडा हिङमाङ गाँउमा सम्पन्न महायज्ञले उक्त क्षेत्रलाई धर्म, संस्कार र सामूहिक एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताए । ‘धर्म, संस्कार र एकता–हाम्रो पहिचान’ भन्ने मूल नारासहित आयोजना गरिएको उक्त महायज्ञले हिङमाङ परिवार मात्र नभई समग्र समाजमा आध्यात्मिक ऊर्जा सञ्चार गरेको सहभागीहरुले बताए ।

महायज्ञमा श्रीमद् भागवत महापुराणको सातौं दिवससम्म शतचण्डी महारुद्राभिषेक, नित्य जप, हवन, तर्पण, मार्जन, ब्राह्मण भोजन, चारपल्ट विशाल महाआरती तथा लाखौँ दीप प्रज्वलन जस्ता विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका थिए । दिनहुँ वैदिक मन्त्रोच्चारण, भजन-कीर्तन र कथा-प्रवचनले वातावरण भक्तिमय बन्दै जाँदा श्रद्धालु भक्तजनको उल्लेखनीय उपस्थिति थियो । 

ओमकार धार्मिक सेवा समिति कपन, काठमाडौंको सहकार्यमा गणेश पन्तले २७८ थान श्रीमद् भागवत गीता निःशुल्क रूपमा वितरण गरे । ‘ज्ञान बाँडौँ, पुण्य कमाऔँ’ अभियान अन्तर्गत गरिएको उक्त कार्यले धार्मिक ग्रन्थमार्फत जीवन दर्शन, नैतिकता र कर्मयोगको सन्देश पुर्याउने विश्वास लिएको पन्तले बताए ।

हिङमाङ एकता समाजका अध्यक्ष कुमार हिङमाङ, उपाध्यक्ष डोरनाथ हिङमाङ, सह-सचिव कुलबहादुर हिङमाङ तथा व्यवस्थापक सन्जय हिङमाङले महायज्ञ सफल महत्वपूर्ण भूमिका निर्वाह गरे । यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समाजमा सद्भाव, अनुशासन र आपसी सहकार्यको भावना अझ बलियो बनाउने उनीहरुको विश्वास छ ।

समग्रमा, हिङमाङ एकता समाज खोटाङद्वारा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ केवल धार्मिक अनुष्ठानमा सीमित नरही सामाजिक एकता, सांस्कृतिक पहिचान र आध्यात्मिक जागरणको अनुपम उदाहरण बनेको छ । यसले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा पुण्यकार्यलाई निरन्तरता दिन सबैलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

Share News