११३९ मत गणना हुँदा  अध्यक्षमा ओलीको अग्रता कायमै, अधिकांश पदाधिकारीमा ओली पक्ष हावी

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा १ हजार १३९ मत गणना हुँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले फराकिलो अग्रता बनाएका छन् । 

हालसम्मको गणनाअनुसार ओलीले ८४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन् ।

अध्यक्ष पदमा ओलीको झण्डै तीन गुणा मतको अग्रताले महाधिवेशनको परिणाम ओली पक्षको पक्षमा जाने संकेत देखिएको छ ।

उपाध्यक्ष पदमा बहुपदका लागि भइरहेको प्रतिस्पर्धामा पृथ्वी सुव्वा गुरुङले सबैभन्दा धेरै ९०० मत प्राप्त गरेका छन् । विष्णु प्रसाद पौडेलले ८४६ मत ल्याउँदै बलियो उपस्थिति जनाएका छन् भने गोकर्णराज विष्टले ७१३ र रघुजी पन्तले ६१७ मत प्राप्त गरेका छन् ।

गुरु प्रसाद बराल (५८५), रामबहादुर थापा ‘बादल’ (४७४) र विन्दा पाण्डे (४७४) पनि प्रतिस्पर्धामा देखिएका छन् । अन्य उम्मेदवारहरूमा अरुण नेपाल (२२३), पर्शुराम मेघि गुरुङ (२३४), भीम प्रसाद आचार्य (१४३) र टंकप्रसाद कार्की (१८६) छन् ।

महासचिव पदमा शंकर पोख्रेलले ६१३ मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत पाएका छन् । मतान्तर अत्यन्तै कम भएकाले यो पदमा प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।

उपमहासचिव पदमा लेखराज भट्टले ७३४ मत ल्याउँदै शीर्ष स्थानमा छन् । योगेश भट्टराई (७०९) र रघुवीर महासेठ (६८९) नजिकै पछ्याइरहेका छन् । विष्णुप्रसाद रिमालले ५४० मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवारहरूमा आनन्द प्रसाद पोख्रेल (३३४), वैजनाथ चौधरी (२७१) र राजेन्द्र प्रसाद गौतम (१४०) रहेका छन् ।

सचिव पदतर्फ पद्मा कुमारी अर्यालले ७७८ मत प्राप्त गर्दै अग्रता लिएकी छन् । महेश बस्नेतले ७८३ र शेरधन राईले ७६७ मत पाउँदै कडा प्रतिस्पर्धा देखिएको छ ।

खगराज अधिकारी (६८०), यमलाल कँडेल (६२६), भानुभक्त ढकाल (५५२), गोकुलप्रसाद बास्कोटा (५२८) लगायतका उम्मेदवारहरू पनि अग्रपंक्तिमा छन् । अन्य उम्मेदवारहरूले २०० देखि ४६० मतसम्म प्राप्त गरेका छन् ।

Share News