एमाले महाधिवेशन: अध्यक्षमा ओलीको अग्रता, कसले कति मत ल्याए ?

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । विद्युतीय मतदान प्रणालीमार्फत भएको मतगणनाको प्रारम्भिक विवरणअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदमा प्रतिस्पर्धी उम्मेदवारहरूले उल्लेख्य मत प्राप्त गरेका छन् ।

अध्यक्ष पदतर्फ केपी शर्मा ओलीले १५६ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ६७ मत पाएका छन् ।

उपाध्यक्ष पदमा बहुप्रतिस्पर्धा देखिएको छ । प्रारम्भिक मत परिणामअनुसार विष्णु प्रसाद पौडेलले १७३ मत, पृथ्वीसुव्वा गुरुङले १७१ मत, रामबहादुर थापा ‘बादल’ले १५३ मत, गोकर्णराज विष्टले १३३ मत तथा रघुजी पन्तले १२३ मत प्राप्त गरेका छन् । गुरु प्रसाद बरालले १०९, विन्दा पाण्डेले ९८, पर्शुराम मेघी गुरुङले ४७, टंक प्रसाद कार्कीले ४३, अरुण नेपालले ३८ र भीम प्रसाद आचार्यले २७ मत पाएका छन् ।

महासचिव पदतर्फ शंकर पोखरेलले ११५ मत प्राप्त गर्दा सुरेन्द्र प्रसाद पाण्डेले १०८ मत पाएका छन्, जसले प्रतिस्पर्धा निकै नजिक रहेको संकेत गरेको छ ।

उपमहासचिव पदमा लेखराज भट्टले १४७ मतसहित अग्रता बनाएका छन् । उनीपछि योगेश भट्टराईले १४०, रघुवीर महासेठले १२६, विष्णु प्रसाद रिमालले १०५, आनन्द प्रसाद पोखरेलले ७१, वैजनाथ चौधरीले ५४ र राजेन्द्र प्रसाद गौतमले २६ मत प्राप्त गरेका छन् ।

सचिव पदतर्फ पनि प्रतिस्पर्धा कडा देखिएको छ । पद्मा कुमारी अर्यालले १५२ मत, महेश बस्नेतले १५०, छविलाल विश्वकर्माले १४५, शेरधन राईले १४१, हिक्मत कुमार कार्कीले १३८ र खगराज अधिकारीले १३२ मत प्राप्त गरेका छन् । यस्तै, राजन भट्टराईले ११३, भानुभक्त ढकालले १०७, गोकुल प्रसाद बास्कोटाले १०४, कर्णबहादुर थापा र ठाकुर प्रसाद गैरेले समान ९३ मत पाएका छन् । अन्य उम्मेदवारहरूको मतसंख्या ४१ देखि ८३ को बीचमा रहेको छ ।

निर्वाचन आयोगका अनुसार यो प्रारम्भिक परिणाम हो र बाँकी मतगणना तथा औपचारिक घोषणा प्रक्रिया जारी रहेको छ । अन्तिम नतिजा सार्वजनिक भएपछि एमालेको नयाँ नेतृत्व संरचना स्पष्ट हुने आयोगले जनाएको छ ।

Share News