जेनजी आन्दोलनमा भएको क्षतिबापत बीमा कम्पनीले गरे ५.१८ अर्ब रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकममध्ये हालसम्म ५ अर्ब १८ करोड रुपैयाँ दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ३०३ वटा बीमा दाबीको करिब २३ अर्ब ४५ करोड रुपैयाँ दाबी रकममध्ये हालसम्म उक्त रकम भुक्तानी भइसकेको हो । 

सम्पत्ति बीमातर्फ करिब ३ अर्ब ८२ करोड रुपैयाँ र मोटर बीमातर्फ करिब १ अर्ब २२ करोड रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

इन्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ करिब ७ करोड ५० लाख रुपैयाँ, परिवहन बीमातर्फ करिब १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ करिब ५ करोड ५० लाख रुपैयाँ अग्रिम भुक्तानीसमेत गरी दाबी रकम भुक्तानी भएको छ ।

३ अर्ब २ करोड रुपैयाँ पुनर्बीमा दाबी भुक्तानी

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीलाई करिब ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानीसमेत गरी पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीबाट परेका कूल २ हजार ८६२ वटा पुनर्बीमा दाबीको दाबी रकम करिब १६ अर्ब ६२ करोड रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क छ ।

Share News