एमाले महाधिवेशन: मतदान सम्पन्न, सतप्रतिशत मत खसेन

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान सकिएको छ । बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान बिहीबार ७ बजे सम्पन्न भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोगका अनुसार कुल २ हजार २६३ प्रतिनिधि रहेकामा २ हजार २२७ जनाले मतदान गरेका छन् । यो ९८.०४ प्रतिशत हो । ३६ जना प्रतिनिधि विभिन्न कारणले अनुपस्थित रहेकाले सतप्रतिशत मत नखसेको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन प्रक्रियामा एक घण्टामा औसत करिब १०० मत खसेको देखिन्छ । विद्युतीय मतदान प्रणाली प्रयोग गरिएकाले प्रत्येक मतदातालाई मतदान गर्न अपेक्षाकृत बढी समय लागेको आयोगको भनाइ छ ।

मतदान सम्पन्न भइसकेपछि मतपरिणाम आजै सार्वजनिक गर्ने तयारी भइरहेको आयोगले जनाएको छ । एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । 

Share News