काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सुरु गरिएको मतदान २१ घण्टादेखि निरन्तर जारी छ । बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा लामो समयसम्म लम्बिएको हो ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार कुल २ हजार २६२ प्रतिनिधि रहेकामा २ हजार २०२ जनाले मतदान गरिसकेका छन् । अहिले २२ जना विद्युतीय मेसिनमा मतदान गरिरहेका छन् । तर, मुकुन्द न्यौपाने, पल्लबभट्ट, वसन्त नेम्वाङ, सन्जिव रोका, घनश्याम कोइराला सहित ३६ जना विभिन्न कारणले अनुपस्थित रहने निर्वाचन आयोगका सचिव कुन्साङ लामाको जानकारी दिए ।
उनका अनुसार बिहीबार बिहान ७ बजे मतदान सकिनेछ । निर्वाचन प्रक्रियामा घण्टामा औसतमा करिब १०० मत खसेको देखिन्छ । विद्युतीय मतदान प्रणाली प्रयोग गरिएकाले प्रत्येक मतदातालाई मतदान गर्न अपेक्षाकृत बढी समय लागेको आयोगको भनाइ छ ।
मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको आयोगले जनाएको छ । मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्राविधिक टोली समेत सतर्क अवस्थामा राखिएको छ।
यो मतदानलाई पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको सशक्त उदाहरणका रूपमा हेरिएको एमाले नेता माधव ढुङ्गेलले बताए । नेतृत्व चयनमा प्रतिनिधिहरूको सक्रिय सहभागिताले एमालेको आन्तरिक लोकतन्त्रलाई व्यवहारमै अभ्यास गरिएको ढुङ्गेलको धारणा छ ।