काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले बुधबार (आज) शिष्टाचार तथा बिदाइ भेट गरेकी छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेकी राजदूत सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेकी हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा नेपाल-चीन सम्बन्धका विविध आयाम, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।
सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ठ मित्र भएको उल्लेख गर्दै नेपालको विकास निर्माणका हरेक क्षेत्रमा चीनले निरन्तर सहयोग गर्दै आएको र यो सहयोग आगामी दिनमा पनि कायम रहने विश्वास व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले राजदूत सोङलाई सफल कार्यकाल सम्पन्न गरेकोमा बधाई दिँदै सुखद यात्राको कामना गरिन् । साथै उनले नेपाल ‘एक चीन नीति’ प्रति दृढ प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै गतिविधि हुन नदिने विश्वास दिलाइन् ।
प्रधानमन्त्रीले चीनबाट सदा झैं नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने अपेक्षा पनि व्यक्त गरिन् ।