कालिका रिफाइनरीको आम्दानी एक वर्षमै दोब्बर, भारतीय भन्सार नीतिले बढायो व्यापार

काठमाडौं । खाने तेल उत्पादन गर्ने कालिका रिफाइनरी प्रालिले एक वर्षमै ४ अर्ब रुपैयाँ बढी आम्दानी गर्न सफल भएको छ । कम्पनीले सन् २०२५ मा ४ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबर सञ्चालन आम्दानी गरेको जनाएको छ । 

यो आम्दानी अघिल्लो वर्ष सन् २०२४ को तुलनामा ९४.७४ प्रतिशत अर्थात् १ अर्ब ९८ करोड २० लाख रुपैयाँ बढी हो । कम्पनीले सन् २०२४ मा २ अर्ब ९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कच्चा तथा प्रशोधित खाद्य तेलमा भारत सरकारले अपनाएको अनुकूल भन्सार नीतिका कारण नेपाली तेल उद्योगहरूको आम्दानी बढेको कम्पनीको भनाइ छ ।

कम्पनीले सन् २०२३ मा २ अर्ब ६१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । सो अवधिमा विश्व बजारमा कच्चा पदार्थको मूल्य अत्यधिक बढ्दा उद्योगको आम्दानी प्रभावित भएको थियो ।

यद्यपि कच्चा पदार्थको मूल्यमा हुने तीव्र उतार–चढाव तथा वैदेशिक मुद्रा विनिमय दरमा हुने परिवर्तनले आगामी दिनमा पनि व्यवसायमा चुनौती सिर्जना हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कुल आम्दानीको करिब ४७ प्रतिशत हिस्सा भारततर्फ हुने प्रशोधित खाद्य तेल निर्यातमा निर्भर रहेको छ ।

कालिका रिफाइनरीले खाद्य तेल उत्पादनका लागि कच्चा पदार्थ आयात गरी प्रशोधन गर्दै आएको छ । कच्चा पदार्थका रूपमा प्रयोग हुने कच्चा तेल अर्जेन्टिना, अस्ट्रेलिया, न्युजिल्यान्ड, नेदरल्याण्ड्स, ब्राजिल, इन्डोनेसिया तथा युक्रेनबाट आयात गरिँदै आएको छ ।

रिफाइनिङमार्फत खाद्य तेल उत्पादन गर्ने कालिका रिफाइनरी उद्योग सन् २०१९ जनवरी २२ मा स्थापना भएको हो भने सन् २०२१ जुन ८ देखि औपचारिक रूपमा उत्पादन सुरु गरेको हो । नवलपरासीको गैंडाकोटस्थित उद्योगले सूर्यमुखी, सोयाबिन, पामोलिन तथा तोरीको तेल उत्पादन गर्दै आएको छ । उद्योगको कुल उत्पादन क्षमता प्रतिदिन १ सय मेट्रिक टन रहेको छ ।

कालिका रिफाइनरीले तीन वर्षभन्दा बढी समयदेखि खाद्य तेल प्रशोधन गर्दै स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिति जनाउन सफल भएको छ । छोटो अवधिमै खाद्य तेल उद्योगमा आफ्नो पहिचान स्थापित गर्न सफल कम्पनीका अध्यक्ष मदन सापकोटा रहेका छन् ।

सापकोटासँग यस क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव रहेको छ । कालिका रिफाइनरीले आफ्ना खाद्य तेलहरू ‘बेला’, ‘अम्बे’ र ‘एग्रो गोल्ड’ ब्रान्डबाट बजारमा बिक्री वितरण गर्दै आएको छ । 

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब १० करोड रुपैयाँ ऋण लिएको छ । जसमध्ये १४ करोड ९७ लाख रुपैयाँ दीर्घकालीन र २ अर्ब ९५ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ । रेटिङ संस्था केयर नेपालले कम्पनीलाई दीर्घकालीन ऋणका लागि केयर एनपी डबलबी माइनस र अल्पकालीन ऋणका लागि ए फोर रेटिङ प्रदान गरेको छ । 

Share News