चार लेनको मादी पुलमा ७४ प्रतिशत काम सकियो, दैनिक एक सय ३० कामदार खटाएर निर्माण गरिँदै

फाइल तस्बिर


काठमाडौं । मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको मादी पुल निर्माणले तीव्रता पाएको छ । चार लेनको उक्त पुल निर्माणका लागि दैनिक करिब एक सय ३० जना कामदार परिचालन गरिएको छ ।

व्यास नगरपालिका-४ र ५ लाई जोड्ने मादी नदीमाथि निर्माणाधीन पुललाई यातायातसँगै पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने उद्देश्यले कलात्मक आर्क डिजाइनमा तयार पारिँदै छ । आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार पुल केवल आवागमनका लागि मात्र नभई पृथ्वी राजमार्गकै पहिचान बन्ने गरी डिजाइन गरिएको हो ।

तीन सय १५ मिटर लामो पुलको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । सम्झौताअनुसार समयमै काम सम्पन्न हुन नसकेपछि ११ महिना म्याद थप गरिएको र थपिएको समयभित्रै निर्माण पूरा गर्ने लक्ष्यसहित कामलाई तीव्र बनाइएको इञ्जिनियर पाण्डेले जानकारी दिए ।

हाल पुलमा ढलान अघि आवश्यक फर्मा लगाउने, डण्डी तान्ने, टेका लगाउनेलगायत संरचनागत काम भइरहेको छ । उनका अनुसार एउटै बेसमा निर्माण भइरहेको चार लेनको यो पुल पृथ्वी राजमार्गकै पहिलो र सबैभन्दा लामो आर्क डिजाइनको पुल हो ।

गत साउन २६ गते म्याद सकिएपछि आगामी असार १९ गतेसम्म समय थप गरिएको छ । ‘जेठदेखि भदौसम्मको वर्षायामका कारण काम केही समय रोकिएको थियो,’ इञ्जिनियर पाण्डेले भने, ‘दसैं लगत्तै निर्माणले पुनः गति लिएको छ ।’ 

पुलमा छ वटा स्पान रहनेछन् । निर्माण कम्पनीले पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी विसं २०७९ साउन २६ गते एक अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । 

हाल प्रयोगमा रहेको दुई लेनको पुल ३७० मिटर लामो छ भने नयाँ चार लेनको पुल सोही पुलभन्दा करिब ५० मिटर दूरीमा निर्माण भइरहेको छ ।

मुग्लिन-पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । 

यस खण्डको ४१ दशमलव ४५ किलोमिटर सडक कालोपत्रे कार्य समेत पूरा भइसकेको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि निर्माण कार्य सुरु भएको थियो ।
 

Share News