महानगरको छात्रवृत्तिबाट ३० हजार ७ सय ७९ विद्यार्थी लाभान्वित

काठमाडौं । काठमाडौं महानगरले आफ्नो पालिका भित्रका विद्यालयमा ३० हजार ७ सय ७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गरेको जनाएको छ । महानगरपालिकाले प्रदान गरेको छात्रवृत्तिमा शैक्षिक सत्र २०८१ मा ३० हजार ७ सय ७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययनको अवसर प्राप्त गरेका हुन् ।

जसमा छात्रा छात्रवृत्तिमा ५ हजार ८ सय ९५, दलित छात्रवृत्तिमा १ हजार ३ सय २२, अपाङ्ग र आवासीय छात्रवृत्ति ४ सय ५५ जनाले अवसर प्राप्त गरेका छन् । 

यस्तै, संस्थागत विद्यालयहरूमा कक्षा १ देखि १० सम्म १९ हजार ३ सय ६ जना र कक्षा ११ र १२ मा ३ हजार ८ सय १ जना छात्रछात्राले छात्रवृत्ति प्राप्त गरेका छन् । शिक्षा विभागले गएको वर्षको प्रगतिहरूको विषयमा जानकारी गराउने क्रममा यो विवरण उपलब्ध गराएको हो । 

यस्तै, महानगरले कक्षा १ देखि १२ सम्मका ५६ हजार ३ सय १ जनालाई निःशुल्क पाठ्यपुस्तक प्राप्त गरेको बताएको छ । ५८ हजार ७ सय ३९ जना विद्यार्थीले नियमित दिवा खाजा पाएका छन् भने स्यानिटरी प्याड प्रयोग गर्नु पर्ने उमेर समूहका १७ हजार ६ सय ८९ जना छात्राले निःशुल्क स्यानिटरी प्याड प्राप्त गरेका छन् । 

महानगरले २०८१ मा शिक्षातर्फ ३ अरब २९ करोड ४७ लाख ७७ हजार रुपियाँ बजेट विनियोजन गरिएको थियो । यसको ५३.८ प्रतिशत अर्थात १ अरब ७७ करोड ३४ लाख ४२ हजार रुपैयाँ खर्च भएको जनाइएको छ । 

यसमा आन्तरिकतर्फको नियमित कार्यक्रममा १ अरब ४ करोड ८५ लाख २७ हजार विनियोजन गरिएकोमा त्यसको ३० प्रतिशत अर्थात् ३१ करोड ५६ लाख ५ हजार खर्च भएको छ । 

‘गरी खाने शिक्षा महानगरको इच्छा’  कार्यक्रमका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएकोमा ५ करोड १ लाख ६६ रुपैयाँ अर्थात् ८.४ प्रतिशत खर्च भएको छ । 

शिक्षा क्षेत्रका स्वर्णीम योजनाका लागि ११ करोड १४ लाख रुपैयाँ विनियोजन भएकोमा ४ करोड ३२ लाख अर्थात् ३८.८ प्रतिशत खर्च भएको छ  । संघीय सशर्त अनुदानबाट १ अरब ४२ करोड ३४ लाख ५० हजार रुपियाँ प्राप्त भएकोमा यसको ९२.९ प्रतिशत अर्थात १ अरब ३२ करोड २२ लाख रुपैयाँ खर्च भएकाले विभागले जनाएको छ ।

शुक्रबारे कार्यक्रम

काठमाडौं महानगरले सुरु गरेको पुस्तक रहित शुक्रबारे कार्यक्रम अन्तर्गत कक्षा ४ देखि ८ सम्मका १८ हजार २१८ जना छात्रछात्रा सहभागी भएको पाइएको छ भने शिक्षामा सीप कार्यक्रमअन्तर्गत ५ हजार ११ जनाले कक्षा लिएका छन् । यस्तै, ७७ वटा विद्यालयमा प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति गरिएको छ । 

सुन्दर विद्यालय निर्माणका लागि ८२ वटा विद्यालयलाई अनुदान प्रदान गरिएको छ  । महानगरपालिकाभित्रका आधारभूत विद्यालय २६ वटा, माध्यमिक विद्यालय ५८ वटा, विशेष विद्यालय ४ वटा,  वैकल्पिक विद्यालय २३ वटा, धार्मिक विद्यालय ११ वटा, सामुदायिक सिकाइ केन्द्र २८ वटा, संस्थागत विद्यालय ४२५ वटा गरेर जम्मा शैक्षिक संस्थाहरू ७८४ वटा छन् । 

प्रारम्भिक बाल विकास केन्द्रमा ५ हजार ३३२ जना विद्यार्थीले अध्ययन गरेका छन् । आधारभूत तहअन्तर्गत कक्षा १ देखि ५ सम्म १६ हजार ५ सय ५२ जना र कक्षा ६ देखि ८ सम्म १४ हजार २१३ जना विद्यार्थीले अध्ययन गरेका छन् । 

माध्यमिक तहअन्तर्गत कक्षा ९ र १० मा १२ हजार ८९६ जनाले र कक्षा ११ र १२ मा १२ हजार ६४० जना र स्रोत कक्षामा ४ सय ५५ जना विद्यार्थीले अध्ययन गरेका छन् भने यस वर्ष सामुदायिक विद्यालयहरूमा ६२ हजार ८८ जना र संस्थागत विद्यालयहरूमा २ लाख २१ हजार ६४४ जना गरी २ लाख ८३ हजार ७३२ जना विद्यार्थीले अध्ययन गरेका छन्  ।

Share News