काठमाडौं । पढाइसँगै घरखर्च चलाउने उद्देश्यले धादिङका युवा सुन्तला टिप्ने मौसमी रोजगारीका लागि म्याग्दी पुगेका छन्। विद्यालय तथा क्याम्पस तहमा अध्ययनरत उनीहरू वर्षेनी म्याग्दीका सुन्तला बगैँचामा र मुस्ताङका स्याउ बगैँचामा काम गर्दै आयआर्जन गरिरहेका छन्।
मङ्सिर, पुस र माघ महिनामा म्याग्दीका बगैंचामा सुन्तला टिप्ने उनीहरू भदौ, असोज र कात्तिकमा भने मुस्ताङ पुगेर स्याउ टिप्छन्। यसरी वर्षभरि मौसमी खेतीमा संलग्न हुँदै उनीहरूले पढाइ र परिवारको खर्च जुटाउने गरेका छन्।
झण्डै २० जनाको समूहमा गाउँकै ठेकेदारमार्फत बेनी नगरपालिका-४ बास्कुना पुगेका धादिङको रुबीभ्याली गाउँपालिका-५ रिका दिलीप घलेले सुन्तला टिप्ने कामले आफूहरूलाई मौसमी रोजगारी दिएको बताए।
‘पढाइ र घरखर्च चलाउने पैसा जुटाउन सुन्तला टिप्न आएको हुँ,’ उनले भने, ‘तीन महिना काम गरेपछि घर फर्किएर ११ कक्षाको पढाइलाई निरन्तरता दिने योजना छ।’
म्याग्दीका सुन्तला बगैंचामा काम गर्ने मजदुरमध्ये अधिकांश धादिङ र गोरखाका युवा रहेको बताइएको छ। जिल्लाभर हाल २०० भन्दा बढीले सुन्तला टिप्ने रोजगारी पाएका छन्। बगैँचामा पाकेका सुन्तला टिप्ने, ग्रेडिङ गर्ने र बजार पठाउने चटारोका कारण किसान र मजदुर दुवैलाई यतिबेला भ्याइनभ्याइ छ।
सुन्तला टिप्ने काममा संलग्न मजदुरले खानासहित मासिक १५ देखि २० हजार रुपैयाँ वा दैनिक ७०० देखि ८०० रुपैयाँ ज्याला पाउने गरेका छन्। बोटबाट फल टिप्ने, ग्रेडिङ, गाडीमा लोड–अनलोड गर्न ठूलो संख्यामा मजदुर आवश्यक पर्ने भएकाले स्थानीयसँगै अन्य जिल्लाका युवालाई पनि रोजगारी सिर्जना भएको बेनी–३ राखुकी भवीकला रानाले बताए।
कृषि विकास कार्यालयका अनुसार गत वर्ष म्याग्दीबाट ३३ करोड रुपैयाँ मूल्य बराबरको ४ हजार ७८१ मेट्रिक टन सुन्तला बिक्री भएको थियो। जिल्लाभर ८१० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ, जसमध्ये ४२५ हेक्टरमा फल लाग्ने अवस्था रहेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख सञ्जिव बास्तोलाले यस वर्ष पनि गत वर्षकै हाराहारीमा उत्पादन हुने अनुमान गरिएको जानकारी दिए।
म्याग्दीका राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङ लगायत क्षेत्रमा २०० भन्दा बढी सुन्तला बगैंचा रहेका छन्।
यहाँ उत्पादन भएका सुन्तला बेनीसहित काठमाडौं, पोखरा, मुग्लिनलगायतका बजारमा बिक्री हुने गरेका छन्। यातायात सुविधा सहज भएकाले व्यापारीहरू सुन्तला किन्न गाडी लिएर सिधै बगैँचामा पुग्ने गरेका छन्।