फागुन २१ भित्र जसरी भएपनि निर्वाचन गरिन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार सुशासन र निर्वाचनलाई दुई मुख्य प्राथमिकतामा राखेर केन्द्रित रूपमा काम गरिरहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवसको अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते सम्पन्न जेन-जी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको उल्लेख गरिन् । 

सोही सन्दर्भमा उनले आगामी फागुन २१ गतेभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अहोरात्र तयारीमा जुटिरहेको जानकारी दिए । 

‘निर्वाचनमार्फत अभिव्यक्त हुने नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौं,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘त्यसैले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।’


उहाँले संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा देशलाई सुरक्षित रूपमा अघि बढाउने एकमात्र विकल्प निर्वाचन नै भएको स्पष्ट पारिन् । 

प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि प्रकारको अराजकता स्वीकार्य नहुने भन्दै शान्ति भंग गर्ने, कानुन हातमा लिने तथा आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको बताइन् । 


‘खराब तत्वको प्रतिरोधमा समुदायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ,” उहाँले जोड दिँदै भनिन्, ‘आउनुहोस्, समाजमा शान्ति कायम गर्दै सुशासनयुक्त राष्ट्र निर्माणमा हातेमालो गरौं । ’

सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल बनाउन जेन-जी समूहको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरिन् ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विभिन्न कालखण्डमा योगदान पुर्याउने व्यक्तित्वहरूको सामूहिक प्रयासकै कारण ललितपुर महानगरपालिका आजको अवस्थामा आइपुगेको बताइन् ।

कार्यक्रममा ललितपुर महानगरपालिकालाई सबैभन्दा बढी कर तिर्ने संस्थाका रूपमा रातो बङ्गला स्कुललाई सम्मान गरिएको थियो । जसले ७६ लाख रुपैयाँ योगदान गरेको छ । साथै समाजसेवामा योगदान पुर्याउँदै आएकी निराराज्य लक्ष्मी राणासहित विभिन्न व्यक्तित्वलाई पनि सम्मान गरिएको छ ।
 

Share News