एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरूबापत २ हजार ४ सय शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा जनाएको प्रतिबद्धता बमोजिम देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई दुई हजार चार सय २८ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ ।

प्रत्येक चौकामा चार वटा शैक्षिक सामग्री वितरण गर्ने सामाजिक पहललाई निरन्तरता दिँदै एनसेलले एनपीएल दोस्रो संस्करणमा पनि हरेक चौकाको प्रहारमा चार वटा शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । 

यो वर्षको एनपीएलका क्रममा ९९ जना खेलाडीहरूले कुल ६०७ वटा चौका प्रहार गरेका थिए जसका आधारमा दुई हजार चार सय २८ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित भएको छ । 

पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सबैभन्दा धेरै ३१ वटा चौका प्रहार गर्दै १२४ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरे । त्यस्तै, २६ वटा चौकासहित लुम्बिनी लायन्सका डार्सी सर्ट दोस्रो स्थानमा रहँदै १०४ वटा शैक्षिक सामग्री सुनिश्चित गरे भने सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले २३ वटा चौका प्रहार गर्दै ९२ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन् ।

यसरी प्रदान गरिने प्रत्येक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजर तथा अध्ययनका लागि आवश्यक अन्य आधारभूत स्टेसनरी सामग्रीहरू समावेश हुन्छ ।

यस वर्ष पनि एनसेल एनपीएलको ‘पावर्ड बाइ’ साझेदार रहेको थियो । कम्पनीले दोस्रो संस्करणका प्रत्येक खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार नगद पुरस्कार प्रदान गरेको थियो । साथै पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले दोस्रो संस्करणमा सबैभन्दा धेरै चौका प्रहार गरेकाले एनसेलबाट २ लाख नगद पुरस्कार प्राप्त गरेका थिए ।

गत वर्ष एनपीएलको पहिलो संस्करणमा प्रहार भएका ६५३ चौकाबाट फाउन्डेसनले २,६१२ भन्दा बढी शैक्षिक सामग्री प्रदान गर्ने प्रतिवद्धता जनाएको थियो । प्रतिवद्धता बमोजिम २,६१२ सामग्रीसहित, फाउन्डेसनले देशभर ९,००० भन्दा बढी शैक्षिक सामग्री वितरण गरेको थियो, जसले हजारौ विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्रीमार्फत सशक्त बनाएको छ।

यो वर्ष पनि शैक्षिक सामग्रीहरूको वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकायहरू र साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा गरिनेछ ।
 

Share News