एमाले ११औं महाधिवेशन : विद्युतीय मतदान राति ११ बजेसम्म लम्बिन सक्ने संकेत

भोटिङ गर्दै केपी शर्मा ओली र ईश्वर पोखरेल ।

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । 

भृकुटीमण्डपस्थित मतदानस्थलमा विद्युतीय मतदान यन्त्रमार्फत मतदान बिहान ९ बजेर २१ मिनेटमा औपचारिक रूपमा सुरु भएको हो । 

निर्वाचन आयोगका अनुसार महाधिवेशनमा सहभागी २ हजार २६२ प्रतिनिधिले मतदान गर्नेछन् । मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ ।

मतदानको सुरुआतमा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मत खसालेका थिए । अध्यक्षका दुई उम्मेदवारलाई भोट हाल्न करिब ४० मिनेट लागेको आयोग स्रोतले जनाएको छ । 

अध्यक्षसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव र केन्द्रीय सदस्यसमेतका सबै पदमा मतदान गर्नुपर्ने भएकाले सम्पूर्ण मतदान प्रक्रियामा समय लाग्ने देखिएको छ ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार एक मतदाताले सबै पदमा मत खसाल्न औसत ३० मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ । 

प्रति मतदाताको समयलाई आधार मान्दा ८० वटा मेसिनमा ३० मिनेटमा ८० जनाले मतदान गर्न सक्छन् । यसरी हेर्दा एक घण्टामा करिब १६० जना मतदाताले मतदान गर्न सक्ने अवस्था देखिन्छ ।

यस हिसाबले हेर्दा २ हजार २६२ मतदाताले मतदान सम्पन्न गर्न करिब १४ घण्टा भन्दा बढी समय लाग्ने देखिएको छ । मतदान आज बिहान ९ बजेर २१ मिनेटमा सुरु भएकाले कुनै प्राविधिक अवरोध, ब्रेक वा व्यवस्थापकीय समस्या नआए पनि राति करिब ११ बजेसम्म मतदान चल्न सक्ने सम्भावना देखिन्छ ।

मतदानस्थलमा प्रतिनिधिहरू लाइनमा बसेर आफ्नो पालो कुरिरहेका छन् । विद्युतीय मतदान प्रणाली नयाँ र बहुपदका लागि एकैपटक मतदान गर्नुपर्ने भएपनि स्क्रिनमा उमेदवारको तस्बिर देखिने भएकोले खासै मतदानमा समस्या नभएको मतदाताहरूले बताएका छन् । 

यद्यपि आयोगले आवश्यक प्राविधिक सहयोग, स्वयंसेवक र निर्देशनमार्फत मतदानलाई सहज बनाउने प्रयास भइरहेकोले पनि मतदान सहज भएको आयोगले जनाएको छ ।

मतदान सकिएलगत्तै मतगणना सुरु गरिने आयोगको तयारी रहेको छ ।
 

Share News