एमाले महाधिवेशनः नेतृत्व चयनका लागि मतदाता लाइन लागे

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ । भृकुटीमण्डपस्थित मतदानस्थलमा सबै प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार विद्युतीय मतदान प्रणालीमार्फत मतदान गरिने अन्तिम परीक्षण, उम्मेदवारहरूको नाम तथा पदअनुसार विवरण प्रविष्ट गर्ने काम सम्पन्न भएको छ । बिहान ठ्याक्कै ८ बजे मतदान खुला गरिने आयेगले दाबी गरेको छ। यसअघि प्राविधिक कारणले मतदान प्रक्रिया केही ढिलाइ भएको थियो ।

मतदानका लागि देशभरबाट आएका २ हजार २ सय प्रतिनिधिहरू बिहानैदेखि मतदानस्थल वरिपरि उपस्थित हुन थालेका छन् । मतदान सुरु नहुँदै प्रतिनिधिहरू लाइनमा बसेका छन् भने सुरक्षाको व्यवस्था पनि कडा बनाइएको छ । महाधिवेशनस्थलमा कुनै अव्यवस्था नहोस् भन्नका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएको छ ।
 null

महाधिवेशनबाट अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यहरू चयन गरिँदैछ । यसपटक प्यानलगत प्रतिस्पर्धा भएकाले निर्वाचनलाई चासोका साथ हेरिएको छ । मतदान सम्पन्न गर्न १० घण्टा लाग्ने आयोगले जानकारी दिएको छ । आयोगका अनुसार ८० इभिएमबाट मतदान गरिने छ । एकजनाले आफ्नो मताधिकार सम्पन्न गर्न २० देखि ३० मिनेट लाग्नेछ । मतदान सम्पन  भएपछि मतगणना सुरु गरिने र परिणाम ३ घण्टामा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

एमालेको आन्तरिक नेतृत्व चयनसँगै यसको परिणामले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ । त्यसैले महाधिवेशनको आजको मतदान प्रक्रियालाई पार्टीभित्र मात्र होइन, बाहिर पनि चासोपूर्वक हेरिएको छ ।

Share News