काठमाडौं । पास धेरै विद्यार्थी हुन्छन् तर, टपर तिनैमध्येको सबैभन्दा उति उत्तम विद्यार्थी बन्छन् । हरेक विद्यार्थीले टपरको स्तरमा मिहिनेत गर्दैनन् । कमैले मिहिनेत गर्छन् तर तिनैमध्ये पनि जो सर्वोत्कृष्ट बन्छ उसले घोकेर पढ्दैन, बुझेर पढेको हुन्छ ।
काठमाडौंको किलागलका साह शाक्य मल्टिमिडिया टेक्नोलोजी विषयमा सर्वोत्कृष्ट नम्बरसहित टपर बने । मंगलबार ललितपुरमा रहेको द प्लाजामा भएको इस्लिङ्टन कलेजको १६ औं दीक्षान्त समारोहमा टपरको रूपमा दीक्षित हुँदा निकै खुसी थिए ।

साह शाक्य
कक्षा १ देखि १२ सम्म काठमाडौंको सेन्ट जेभियर्समा पढेका उनी पढाइमा राम्रा विद्यार्थी हुन् । प्लस टु कम्प्युटर साइन्स लिएर पढेका उनले ब्याचलर्समा भने मल्टिमिडिया टेक्नोलोजी रोजे । जहाँ ग्राफिक डिजाइन, भिडियो एडेटिङ, एनिमेसन, टेक्नोलोजीहरू पढाइ हुन्छ ।
सानैदेखि आर्टमा रुचि राख्ने शाक्य सिक्ने अवसर र ठाउँको खोजीमा थिए । उनले यो विषयमा पढाइ हुने ठाउँ खोज्दा इस्लिङ्टन कलेज भेटे ।
‘मलाई आर्ट गर्न, पेन्टिङ, ड्रइङ गर्न मन पर्थ्यो,’ उनी भन्छन्, ‘ठाउँ खोज्दै जाँदा यो कलेज भेटेँ अनि निकै मिहिनेत गरेँ र आज राम्रो परिणाम हात पारेको छु । म निकै खुसी छु,’ उनले भने ।
टपर हुनुभयो टपर बन्न कति मिहिनेत गर्नुभयो भयो भन्ने प्रश्नमा शाक्य भन्छन्, ‘टपर हुन्छु भनेर कहिल्यै पढिनँ तर, पढाइमा खुब मिहिनेत गर्छु । त्यसैको फलस्वरूप टपर भएको हुँ । ’

शाक्य हरेक विद्यार्थीले आफूले आफैलाई मूल्याङ्कन गर्नुपर्ने बताउँछन् । ‘म कसरी पढिरहेको छुँ, के यो पढाइले म आफ्नो विषयमा दक्ष हुन सक्छु ? यति कुरा विद्यार्थीले बुझ्नुपर्छ, विद्यार्थीले यो कुरा आफै बुझ्नुभयो र आफैलाई सुधार्ने प्रयास गर्नुभयो भने टपर अवश्य भइन्छ,’ उनले भने ।
उनलाई पढ्न, कलेज जान रमाइलो लाग्छ । बिहान ७ बजे उनी कलेज जान्छन् । १२ देखि १ बजेसम्म कलेज चल्छ । उनलाई पहिला मल्टिमिडियाको विषयमा केही थाहा थिएन । यसमा कलेजले पनि धेरै सहयोग गरेको बताउँछन् शाक्य ।
‘कलेजले पनि सहयोग गर्यो, मैले पनि मिहिनेत गरेँ र टप गरेँ,’ उनले भने ।

इस्लिङ्टन कलेजको १६ औं दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरू
शाक्यले ब्याचलर्सपछि मास्टर कहाँ गर्ने भन्ने योजना बनाइसकेका छैनन् तर यसका लागि राम्रो अवसर र कलेजको खोजी भने गरिरहेका छन् । सके नेपालमै नभए विदेशमा गएर पनि उनलाई यो विषयमा मा स्नातकोत्तर गर्न मन छ । उनी जहाँ पढे पनि काम भने नेपालमै अलिक फरक तरिकाले योजना बनाएको बताउँछन् ।
नेवारी समुदायमा बाहिर ल्याउन सक्ने थुप्रै विषय भएकाले उनी ती विषयलाई प्रोजेक्टका रूपमा बाहिर ल्याउने बताउँछन् ।
शाक्य नेपाली विद्यार्थी विदेशबाट नफर्किनुको कारण नै अवसर नहुनु रहेको औंल्याउँछन् । यो फिल्डमा राम्रो काम गरिरहेकाहरू पनि भएकाले नेपालमा काम गर्ने अवसर नभएको उनी बताउँछन् ।
***
भक्तपुरको कौशलटार बस्ने अनिस घिमिरेलाई पनि टपर हुन्छु भन्ने लागेको थिएन । तर उनले पढाइमा मिहिनेत भने जहिले गर्थे । मंगलबार इस्लिङ्टनको दीक्षान्त समारोहमा उनी टप भए । कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी विषयमा कलेजकै सर्वोत्कृष्ट भए ।
‘म टप हुन्छु, सबैभन्दा सर्वोत्कृष्ट नम्बर ल्याउँछु भने कहिल्यै पढ्दिनँ,’ उनी भन्छन्, ‘म पढेको कुरालाई कत्तिको व्यवहारमा ल्याउन सक्छु भन्ने तरिकाले पढछु, मिहिनेत पनि गर्छु, आज टपर हुँदा निकै खुसी लागेको छ । साथै नर्भस पनि भएको छु ।’

अनिस घिमिरे
टपर हुन कसरी पढ्नुपर्छ भन्ने प्रश्नमा घिमिरे भन्छन्, ‘पढ्ने हरेक व्यक्तिको आफ्नो तरिका हुन्छ । कसैलाई लेखेर पढ्दा याद हुन्छ भने कसैलाई बोलेर पढ्दा त कसैलाई मनमनै पढ्दा । अब ठ्याक्कै यही तरिका हुन्छ भन्ने त हुँदैन नि ।’
घिमिरे हरेक दिन आफूले पढेको अनि कलेजमा पढाइएका कुरा घरमा आएर गहिरिएर हेर्छन् । तर परीक्षाको लागि भने परीक्षा आउनुभन्दा एक हप्ता अगाडि वा केही दिन अगाडिमात्र तयारी गर्छन् ।

अघिपछि किताब नहेर्ने तर परीक्षाको समयमा घोक्दा याद नहुने घिमिरे बताउँछन् । हरेक दिन समय निकालेर कलेजमा पढाएका कुरालाई घरमा गएर हेर्नेमात्र हो भने पनि धेरै कुराहरू बुझिने र परीक्षामा पनि लेख्न सजिलो हुने उनको भनाइ छ ।
‘म परीक्षा पास गर्न मात्र नभइ यो पढेको कुरा कसरी व्यवहारमा उतार्न सक्छु भन्ने हिसाबले पढ्छु,’ उनी भन्छन्, ‘म परीक्षाको बेलामा धेरै पढ्ने मान्छे होइन, अगिपछि पढिएन भने परीक्षाको बेलामा जति घोटिए पनि केही हुँदैन।’
घिमिरेले नर्सरीदेखि कक्षा एकसम्म धुम्बारहीमा रहेको युनिभर्सल एकेडेमीमा पढे । कक्षा दुईदेखि १० सम्म प्यारागन पब्लिक स्कुलमा पढे । कक्षा ११ र १२ मा जेभिएर एकेडेमी लैनचौरमा अध्ययन गरे । प्लस टुमा विज्ञान विषय लिएर पढेका उनी कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी विषय लिएर इस्लिङ्टनमा अध्ययन गरे ।
उनी अहिले आइटीमा आवश्यक्ता र राम्रो अवसर हुँदा यो विषय रोजेको बताउँछन् । ‘अहिले डेटा इज पावर भनेजस्तै आफूसँग डेटा छ भने बलियो हुने भन्ने हुन्छ,’ घिमिरे भन्छन्, ‘अहिले ठूलाठूला राष्ट्रले साइबर सेक्युरिटीमा धेरै लगानी गरिरहेका छन्, मेरो रुचि पनि यसैमा थियो, त्यसैले पनि यो विषय रोजेको हुँ।’
घिमिरे नेपालमा पढ्न र यही केही गर्न चाहने विद्यार्थीका लागि राम्रो अवसर नरहेको गुनासो गर्छन् ।
उनी विदेश गए पनि स्वदेशमै फर्किएर केही गर्नुपर्नेमा जोड दिन्छन् । ‘देश-विदेशको अनुभव लिनुपर्छ, अवसर पाए मलाई पनि जान मन छ तर, काम भने आफ्नै देशमा गर्ने हो,’ उनले भने ।