काठमाडौं । वनस्पति घ्यू तथा प्रशोधित खाद्य तेल उत्पादन गर्ने गणपति वनस्पति लिमिटेडले सन् २०२५ मा उल्लेखनीय वित्तीय प्रगति गरेको छ । कम्पनीले एक वर्षमा ८ अर्ब २५ करोड ४० लाख रुपैयाँ बराबरको कुल सञ्चालन आम्दानी गरेको जनाएको छ ।
यो आम्दानी अघिल्लो वर्षको तुलनामा ५६५.६४ प्रतिशतले वृद्धि भएको हो । सन् २०२४ मा कम्पनीको कुल सञ्चालन आम्दानी १ अर्ब २४ करोड रुपैयाँ मात्र रहेको थियो, जसको तुलनामा सन् २०२५ मा ७ अर्ब १ करोड ४० लाख रुपैयाँले वृद्धि भएको देखिन्छ ।
कम्पनीले सन् २०२३ मा ६ अर्ब ५० करोड ३० लाख रुपैयाँ बराबर कुल आम्दानी गरेको थियो । यद्यपि कम्पनीले सन् २०२२ मा भने १२ अर्ब ३३ करोड ८० लाख रुपैयाँ बढी आम्दानी गरेको थियो । जुन पछिल्लो एक दशक यताकै उच्च आम्दानी थियो ।
अघिल्ला वर्षहरूका तथ्याङ्कअनुसार कम्पनीले सन् २०१६ मा २ अर्ब २१ करोड ६० लाख रुपैयाँ, सन् २०१७ मा ३ अर्ब १६ करोड रुपैयाँ, सन् २०१८ मा ३ अर्ब ७५ करोड रुपैयाँ, सन् २०१९ मा ४ अर्ब ५६ करोड ३० लाख रुपैयाँ, सन् २०२० मा ५ अर्ब ५१ करोड रुपैयाँ र सन् २०२१ मा ८ अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबर कुल आम्दानी गरेको थियो ।
सन् १९९८ मा स्थापित गणपति वनस्पति सन् २०२३ अप्रिलमा पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । कम्पनीले खाद्य तेल तथा सम्बद्ध उद्योग क्षेत्रमा बलियो उपस्थिति जनाउँदै आएको छ । कम्पनीले बारामा रहेको उद्योगबाट उच्च गुणस्तरीय वनस्पति घ्यू, प्रशोधित तेल, तोरीको तल उत्पादन गर्दै आएको जनाएको छ ।
वार्षिक १ लाख २० हजार मेट्रिक टन उत्पादन क्षमताको गणपति वनस्पति नेपालकै सबैभन्दा ठूलो तेल उद्योग रहेको कम्पनीको दाबी छ । करिब तीन दशकदेखि खाद्य तेल उत्पादन गर्दै आएको कम्पनीले अत्याधुनिक प्रविधियुक्त उद्योग सञ्चालन गर्दै आएको छ ।
कम्पनीले सफारी, सफारी हेल्थ, छक्र तथा रामदेव ब्राण्डमा तेल उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । लक्की ग्रुप अन्तर्गत सञ्चालित गणपति वनस्पतिको अध्यक्ष अमित मोर र सञ्चालक राजीव मोर छन् । कम्पनीले आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि तेल निर्यात विस्तार गर्दै आएको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ४८ करोड २९ लाख रुपैयाँ ऋण लिएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले दीर्घकालीन बैंक ऋण ४४ करोड २० लाख रुपैयाँका लागि डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।
यस्तै, ४ करोड रुपैयाँ अल्पकालीन बैंक ऋणका लागि ए फोर रेटिङ प्रदान गरिएको छ । साथै इन्फोमेरिक्स नेपालले ६ अर्ब रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन ऋणका लागि डबल बी माइनस तथा ए फोर रेटिङ प्रदान गरेको छ ।