काठमाडौं । अर्घाखाँची जिल्लाबाट संघीय संसदका लागि नारायणप्रसाद खनालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । जिल्लाको समग्र विकास, सुशासन र जनसेवाको लक्ष्यसहित आफू मैदानमा उत्रिएको खनालले बताएका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा खनालले अर्घाखाँचीको दीर्घकालीन समस्या समाधान, स्थानीय स्रोत–साधनको सदुपयोग र जनताको प्रत्यक्ष सरोकारका विषयलाई संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषि तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने योजना सार्वजनिक गरेका छन् ।
खनालका अनुसार दलगत राजनीतिभन्दा माथि उठेर जनताको वास्तविक आवश्यकता र अपेक्षालाई प्रतिनिधित्व गर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारी दिएको हो ।
‘राजनीति पद र प्रतिष्ठाका लागि होइन, सेवा र उत्तरदायित्वका लागि हुनुपर्छ,’ उनले भने, ‘अर्घाखाँचीको विकासका लागि सबै वर्ग र समुदायलाई साथ लिएर अघि बढ्ने मेरो प्रतिबद्धता छ ।’
स्थानीय तहमा लामो समयदेखि सामाजिक तथा सार्वजनिक क्षेत्रमा सक्रिय रहेका खनाललाई जिल्लाका विभिन्न समुदायले सक्षम, इमानदार र जनमुखी व्यक्तित्वका रूपमा चिन्ने गरेका छन् ।
उनका समर्थकहरूले विकासमा परिणाममुखी काम, पारदर्शिता र जवाफदेहिताको अभ्यासमार्फत जिल्लालाई नयाँ दिशातर्फ लैजान सक्ने दाबी गरेका छन् ।
आगामी निर्वाचनमा अर्घाखाँचीबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका खनालले ‘विकास, विश्वास र समृद्धिको एजेन्डालाई केन्द्रमा राख्दै मतदातासँग समर्थन माग्ने तयारी थालेका छन् ।