काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा (श्रावणदेखि मंसिरसम्म) कुल २ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ ।
कम्पनीका अनुसार भदौ महिनाको अन्तिम साता भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा भएका हुलदङ्गा, तोडफोड र आगजनीबाट राष्ट्रको पूर्वाधार, उद्योग, व्यापार तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिबापत मात्र १ अर्ब ८८ करोड १६ लाख रुपैयाँ भुक्तानी गरिएको छ । यो रकम जेनजी आन्दोलनका कारण हालसम्म सबै बीमा कम्पनीबाट फर्छ्यौट भएका कुल दाबीमध्ये करिब ४० प्रतिशत बराबर रहेको जनाइएको छ ।
कम्पनीले यस अवधिमा जेनजी आन्दोलन बाहेक अन्य भइपरी आएका बीमित जोखिमसम्बन्धी दाबीबापत पनि ८० करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत वर्षको बाढी–पहिरोबाट सिर्जित दाबीहरूमा समेत सबैभन्दा बढी दाबी भुक्तानी गर्ने कम्पनीको रूपमा अग्रणी भूमिका खेलेको जनाएको छ ।
राष्ट्रभर रहेका उद्योग, व्यापार तथा निजी सम्पत्तिमा भएको क्षतिअन्तर्गत आफूसँग बीमित सम्पत्तिको क्षतिपूर्ति छिटोछरितो रूपमा फर्छ्यौट गरी बीमितहरूको संरक्षण गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । साथै, भुक्तानी हुन बाँकी दावीकर्ताहरूलाई आवश्यक कागजात शीघ्र पेश गरी दाबी फर्छ्यौट प्रक्रियामा सहयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।