उच्च कर तिर्ने १६ करदातालाई नेपाल उद्योग परिसंघको सम्मान

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । सरकारद्वारा उच्च करदाता घोषित १६ जना संस्था तथा व्यक्तिलाई निजी क्षेत्रको तर्फबाट परिसंघले सम्मान गरेको हो ।

राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रबाट उत्कृष्ट कर योगदान गर्ने करदाताहरूलाई सम्मान गरेको थियो । सोही सम्मानित करदाताहरूलाई परिसंघले पनि कदरस्वरूप सम्मान प्रदान गरेको जनाएको छ।

वस्तु निर्याततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रालि, विशेष उद्योगतर्फ युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि तथा ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालिलाई परिसंघले सम्मान गरेको छ।

यस्तै, कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ पोषक ब्रिडर फार्म प्रालि, सूचना प्रविधि सेवा निर्याततर्फ भेरिस्क नेपाल प्रालि, एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेशनल, बैंक, वित्तीय संस्था तथा बीमातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ अस्पताल सम्मानित भएका छन्।

रेमिटेन्स तथा मनी ट्रान्सफर सेवातर्फ आईएमई लिमिटेड, निकायमध्ये नेपाल दूरसञ्चार प्राधिकरण, वार्षिक कारोबार ५० करोडदेखि १०० करोड रुपैयाँसम्मतर्फ सीडीएस एण्ड क्लियरिङ लिमिटेड तथा ५० करोड रुपैयाँसम्म कारोबारतर्फ भीएफ सर्भिसेज (मोरिसस) प्रालि पनि सम्मानित भएका छन्।

विसं २०७६ श्रावणदेखि २०८२ असार मसान्तसम्म नियमित रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) विवरण दाखिला गरी सबैभन्दा बढी भ्याट तिरेकोमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र व्यक्तिगत करदातातर्फ जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई परिसंघले सम्मान गरेको छ । शाह परिसंघका उपाध्यक्ष समेत हुन् ।

मंगलबार सीएनआई सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सम्मान प्रदान गर्दै सर्वोत्कृष्ट करदाता हुनु व्यक्तिगत तथा संस्थागत उपलब्धिमात्र नभई राज्यप्रतिको महत्वपूर्ण योगदान भएको बताए। उच्च करदाताको योगदानको कदर गर्दै परिसंघले सम्मान गरेको उनले उल्लेख गरे । 

कार्यक्रममा परिसंघका उपाध्यक्षहरू राजबहादुर शाह, हेमराज ढकाल, अमित मोर, गभर्निङ काउन्सिल सदस्य विजय शाह, राजस्व समिति सभापति गोपालकुमार अग्रवाल, महानिर्देशक डा। घनश्याम ओझालगायतको उपस्थिति थियो ।

Share News