विद्युतीय मतपत्रमा प्राविधिक गडबडी हुँदा एमाले महाधिवेशनको मतदान ढिला हुने

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि तय गरिएको मतदान प्रक्रियामा ढिलाइ भएको छ । 

निर्वाचन आयोगका अनुसार विद्युतीय मतदान प्रणालीमार्फत मतदान गरिने भएकाले उम्मेदवारहरूको नाम, पद र प्यानलसम्बन्धी विवरण मेसिनमा प्रविष्ट गर्ने काम अपेक्षाभन्दा ढिलो भइरहेकोले मतदानमा ढिलाइ भएको हो ।

महाधिवेशनमा विभिन्न पदका लागि ठूलो संख्यामा उम्मेदवारी परेकाले नाम प्रविष्टि, परीक्षण र प्रणाली मिलानमा समय लागेको आयोगले जनाएको छ । प्रविष्टि कार्यमा त्रुटि नआओस् भनेर एक एक विवरण सावधानीपूर्वक जाँच गरिएकोले प्रक्रिया लम्बिएको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए ।

निर्वाचन आयोगका एक सदस्यका अनुसार प्राविधिक तयारी, प्रणाली परीक्षण तथा अन्तिम स्वीकृतिका सबै चरण पूरा गर्न अझै करिब ५ घण्टाभन्दा धेरै लाग्न सक्छ । 

तयारी पूरा भएपछि मतदानस्थलमा रहेका प्रतिनिधिलाई जानकारी गराई मतदान सुरु गरिने ती सदस्यले जानकारी गराए । 

मतदानमा ढिलाइ हुँदा प्रतिनिधिहरू मतदानस्थलमै प्रतीक्षारत रहेका छन् । ई–भोटिङले महाधिवेशनको समग्र कार्यतालिका पनि प्रभावित भएको ती सदस्यले जानकारी दिए ।

उनका अनुसार रातिमात्रै प्राविधिक काम सकिने देखिएकोले मतदान ढिलै हुने सम्भावना रहेको छ ।

Share News