काठमाडौं । कृषि विकास बैंकले कुल कर्जाको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गर्ने रणनीति अघि सारेको छ । बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा प्रवाह गरिने कुल कर्जाको ५० प्रतिशत कर्जा कृषि कर्जामा लगानी गर्ने रणनीति लिएको अध्यक्ष डिमप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार आधुनिक कृषि प्रविधिमा आधारित कृषिजन्य व्यवसायमा उत्पादन तथा व्यावसायिक कर्जा लगानीलाई प्राथमिकता दिइएको छ । उत्पादनमूलक, प्राथमिकता प्राप्त क्षेत्र तथा कृषिसँग सम्बन्धित ठूला र व्यावसायिक परियोजनाहरूमा कर्जा लगानी वृद्धि गरिएको उनले बताए ।
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले कृषि क्षेत्रमा आकर्षित गर्न कर्जा विस्तार गरिएको अध्यक्ष पौडेलको भनाइ छ । व्यावसायिक तथा परियोजनामूलक कर्जामा लगानी बढाउँदै उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणका लागि फरवार्ड तथा ब्याकवार्ड लिंकेज कायम हुने गरी कृषि मूल्य शृंखलामा कर्जा प्रवाह गरिएको छ ।
यसैगरी वन तथा वनपैदावारसम्बन्धी व्यवसाय गर्ने उद्यमीहरूका लागि वन परियोजना अन्तर्गत कर्जा विस्तार गरिएको छ । आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धनमा टेवा पुग्ने परियोजनाहरू, निर्माण तथा ऊर्जा क्षेत्र, पर्यटन क्षेत्र लगायतलाई पनि उच्च प्राथमिकतामा राखेर कर्जा कार्यक्रम सञ्चालन गरिँदै आएको बैंकले जनाएको छ ।
कृषि रूपान्तरणका लागि समावेशी मूल्य शृंखला कार्यक्रम अन्तर्गत अनुदान सहयोगमा किसान कार्ड तथा किसान मोबाइल एपमार्फत डिजिटल वित्तीय सेवा विस्तार गरिएको छ । यसका साथै किसानहरूलाई आवश्यक कृषि ज्ञान, परामर्श, कृषि प्रसार तथा कृषि बजारसम्मको पहुँच विस्तार गरिँदै आएको बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षदेखि कर्जा व्यवसायमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले कर्जा स्वीकृति केन्द्रीय कार्यालयबाट गर्ने व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ । केन्द्रीय कर्जा प्रणाली लागू भएपछि कर्जा सम्पत्तिको गुणस्तरमा सुधार आउने अपेक्षा बैंकले गरेको छ ।
बैंकको वित्तीय स्थिति
बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा निक्षेप रकम २०.६४ प्रतिशत वृद्धि भई २ खर्ब ९४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटीमा ४.५२ प्रतिशत वृद्धि भई २ अर्ब १६ अर्ब २ करोड रुपैयाँ पुगेको छ । साथै गत वर्ष बैंकको लगानी रकममा ४० प्रतिशत वृद्धि भई ९७ अर्ब ८२ करोड रुपैयाँ कायम रहेको बैंकले जनाएको छ ।
गत वर्ष कुल कर्जा तथा सापटमा निष्क्रिय कर्जाको अनुपातमा ३.९१ प्रतिशतमा कमी आई ३.४४ प्रतिशतमा झरेको छ । साथै गत आर्थिक वर्ष २०८१/८२ मा बैंकको सेयरधनी (अग्राधिकार सेयर पुँजी बाहेक) कोषमा ८.०७ प्रतिशतले वृद्धि भई ३३ अर्ब १८ करोड रुपैयाँ कायम छ । यस्तै, गत वर्ष बैंकको ब्याज आम्दानी ६.९० प्रतिशत घटेर ९ अर्ब ८२ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ ।
बैंकका अनुसार चालु आवको पहिलो त्रैमासमा निक्षेप संकलन १६ अर्ब २६ करोड रुपैयाँ बढेर ३ खर्ब १० अर्ब ४० करोड रुपैयाँ पुगेको छ । यस्तै, पहिलो त्रैमासमा कर्जा लगानी ०.१७ प्रतिशत अर्थात् ३५ करोड ९८ लाख रुपैयाँ बढेर २ खर्ब १६ अर्ब ३८ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । असोजसम्म बैंकको कुल सम्पत्ति ३७ अर्ब ७३ करोड ७ लाख रुपैयाँ पुगेको छ ।
पुँजी, कर र लाभांश
बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ सम्मको आयकर दायित्व फर्छ्याैट भइसकेको छ । आर्थिक वर्ष २०८१/८२ को आय विवरण आयकर ऐनले तोकेको समयभित्र नै कर कार्यालयमा पेश गरिने र आयकर बापत १ अर्ब ४५ करोड रुपैयाँ छुट्याइएको बैंकले जनाएको छ ।
बैंकको हाल कायम चुक्ता पुँजी १९ अर्ब २८ करोड ७९ लाख ३६ हजार रुपैयाँ रहेको छ । जसमध्ये नेपाल सरकारको अग्राधिकार सेयर ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ र साधारण सेयर पुँजी १३ अर्ब ८५ करोड ५२ लाख २४ हजार रुपैयाँ रहेको छ । साधारण सेयर पुँजीमध्ये सरकारको ५१ प्रतिशत अर्थात् ७ अर्ब ६ करोड ६१ लाख ६४ हजार रुपैयाँ ३ सय ९३ र सर्वसाधारण सेयरधनीहरूको ४९ प्रतिशत अर्थात् ६ अर्ब ७८ करोड ९० लाख ५९ हजार रुपैयाँ छ ।
बैंकले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ९.७५ प्रतिशत नगद गरी १३ प्रतिशत लाभांश वितरण गरेको छ ।
कृषि विकास बैंकको सहायक कम्पनी कोष व्यवस्थापनमा ९३.४५ प्रतिशत सेयर स्वामित्व रहेको छ । कोष व्यवस्थापन कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ६० लाख ७३ हजार रुपैयाँ नाफा र सेयरधनी कोषमा २६ करोड १७ लाख ४७ हजार रुपैयाँ कायम गरेको छ । सो कम्पनीमा बैंकले २ करोड ९० लाख १३ हजार रुपैयाँ लगानी गरेर २५ करोड २१ लाख खुद सम्पत्ति नियन्त्रण गरेको छ भने १ करोड ७७ लाख बराबरको गैर नियन्त्रण सम्पत्ति रहेको छ ।
साथै ८३.९६ प्रतिशत स्वामित्व रहेको गोबर ग्यास कम्पनीमा लगानी भएको ३२ लाख ५१ हजार रुपैयाँको सतप्रतिशत नोक्सानी व्यवस्था गरिएको बैंकले जनाएको छ ।
‘सबै नेपालीको घर-आँगनसम्म सहज बैंकिङ पहुँच’ अभियानलाई तीव्रता दिँदै बैंकले आईपीएस, कनेक्ट आईपीएस, भिजा डेबिट तथा क्रेडिट कार्ड, किसान कार्ड तथा एप, इन्टरनेट बैंकिङ, ई-कमर्स, क्यूआर पेमेन्ट, मोबाइल पीओएस, मोबाइल बैंकिङ, ई-सेवा, फोनपे, सी-आश्वा, मेरो सेयर र डिम्याट सेवा जस्ता डिजिटल माध्यम विस्तार गरेको छ ।
बैंकले २७४ शाखा, एक मुख्य कार्यालय, १० वटा प्रादेशिक कार्यालय, २२ वटा एक्स्टेन्सन काउण्टर र १२९ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
देशको समग्र आर्थिक उतार–चढाव, महामारीजस्ता आकस्मिक संकट, ब्याजदरको अस्थिरता, विदेशी विनिमय दरमा हुने परिवर्तन तथा साइबर अपराधबाट प्रविधि सुरक्षामा बढ्दो जोखिम बैंकका प्रमुख चुनौतीका रूपमा रहेका छन् । साथै निक्षेप वृद्धिको अनुपातमा कर्जाको माग नहुनु, समयमा कर्जा असुली नहुनु, नियामक नीतिमा हुने परिवर्तन, अन्तर्राष्ट्रिय बजारको मन्दी तथा प्राकृतिक प्रकोपबाट हुने क्षतिले बैंकको व्यवसायमा प्रत्यक्ष प्रभाव पारिरहेको बैंकले जनाएको छ ।