काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आगामी नेतृत्व चयनका लागि हुने निर्वाचनको मतदान नजिकिँदै जाँदा भोट माग्ने क्रम तीव्र बनेको छ ।
महाधिवेशनस्थल भृकुटीमण्डप वरपर नेताहरूको चहलपहल बढेको छ भने प्रतिनिधिहरूसँग भेटघाट र छलफलमा उम्मेदवारहरू व्यस्त देखिन्छन् ।
अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल मतदान सुरु हुनुअघि नै भृकुटीमण्डपस्थित मतदानस्थलमा उपस्थित भई प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्दै भोट मागिरहेका छन् ।
पोखरेलसँगै उनको प्यानलबाट महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डे तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारहरू पनि मतदानस्थलमै डटेर समर्थन जुटाउने प्रयासमा छन् ।
उनीहरू समूहगत रूपमा मात्र होइन, व्यक्तिगत संवादमार्फत पनि प्रतिनिधिहरूलाई आफ्नो पक्षमा पार्न सक्रिय देखिएका छन् ।
पोखरेल पक्षका नेताहरूले पार्टीभित्र संस्थागत नेतृत्व, सामूहिक निर्णय प्रक्रिया र भावी दिनमा संगठन सुदृढीकरणका एजेन्डा अघि सार्दै प्रतिनिधिहरूसँग समर्थन मागिरहेको बताइएको छ । मतदानस्थलमा उनीहरूको निरन्तर उपस्थितिले प्रतिनिधिहरूमाझ चासो र चर्चासमेत बढाएको छ ।
यता अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवारहरू भने समाचार तयार पार्दासम्म मतदानस्थलमा पुगिसकेका छैनन् । ओली पक्षका नेताहरू अन्य स्थानमा प्रतिनिधिहरूसँग भेटघाट र छलफलमा रहेको बताइए पनि मतदानस्थलमा ढिलो उपस्थिति जनाउँदा विभिन्न अड्कलबाजी हुन थालेका छन् ।
केही प्रतिनिधिहरूले अन्तिम समयमा ओली पक्ष पनि संगठित रूपमा मतदानस्थलमा आउने अपेक्षा व्यक्त गरेका छन् ।
महाधिवेशनमा दुई प्रमुख प्यानलबीच प्रतिस्पर्धा हुने देखिएकाले मतदान पूर्वको यो समय निर्णायक मानिएको छ ।