काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवाद फेरि सतहमा आएको छ । प्राधिकरणले बक्यौता रकमको दोस्रो किस्ता नबुझाउने उद्योगी–व्यवसायीहरूलाई पत्र काट्दै बक्यौता नतिरे जुनसुकै बेला लाइन काटिन सक्ने चेतावनी दिएको छ ।
लाइन काटिएपछि पहिलो किस्ता बुझाएर विद्युत् उपभोग गरिरहेका उद्योगहरूले नियमित किस्ता नतिरेपछि प्राधिकरणले पुनः ताकेता गरेको हो ।
प्राधिकरणका अनुसार बक्यौता तिर्न २८ किस्ताको सुविधा दिइएको छ । तर, पहिलो किस्ता तिरेर लाइन जोडाएका उद्योगहरूले दोस्रो किस्ता बुझाउन आनाकानी गरेपछि प्राधिकरणले एक्सन लिने तयारी गरेको हो ।
प्राधिकरणका अनुसार गत मंसिरको पहिलो साता नै विद्युत् वितरण केन्द्रहरूमार्फत उद्योगहरूलाई दोस्रो किस्ता बुझाउन पत्राचार गरिएको थियो । तर, तोकिएको समयमा केही उद्योगले मात्र रकम बुझाए ।
आइतबार पुनः बाँकी रहेका सबै उद्योगलाई पत्र पठाउँदै तत्काल रकम बुझाउन ताकेता गरिएको हो ।
पटक–पटक ताकेता गर्दा पनि भुक्तानी नगर्ने र भुक्तानीको म्याद सकिएका उद्योगहरूलाई लक्षित गरी गत हप्तादेखि लाइन काट्ने अभियान सुरु गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार यो कुनै नयाँ निर्णय नभई पुरानै नियम र प्रक्रियाअनुसार कार्यान्वयन गरिएको हो ।
‘जस–जसको भुक्तानी गर्ने म्याद सकिँदै गयो, हामीले क्रमशः लाइन काट्दै गएका छौं,’ प्रवक्ता ढकालले भने, ‘यो गत हप्तादेखि नै सुरु भएको हो । हामीले विचार गरेरै म्याद सकिएकाहरूको लाइन काट्न थालेका हौं ।’
लाइन काट्न थालेपछि बक्यौता रकम उठ्न थालेको प्राधिकरणले जनाएको छ । प्रवक्ता ढकालका अनुसार केही उद्योगीहरू सम्पर्कमा आएका छन् भने धेरैले आफ्नो बाँकी बक्यौता तिर्न थालेका छन् ।
‘लाइन काट्ने प्रक्रिया सुरु भएपछि धेरैले तिर्नुभएको छ । भुक्तानीको अपडेटहरू आइरहेको छ,’ उनले विकासन्युजसँग भने ।
प्राधिकरणले बक्यौता रकम असुलीलाई कडाइका साथ अघि बढाउने नीति लिएको देखिन्छ । म्याद सकिएका सबै उपभोक्तालाई क्रमशः कारबाहीको दायरामा ल्याइने र नियमअनुसार लाइन काटिने प्रक्रिया जारी रहने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका अनुसार बक्यौता विवादमा लाइन काटिएपछि पहिलो किस्ता बुझाएर लाइन जोडाउने उद्योगको संख्या २२ थियो । तीमध्ये रिलायन्स स्पिनिङ मिल्सले अदालतबाट अन्तरिम आदेश पाएकाले हाललाई उक्त उद्योग बाहेक अन्य २१ उद्योगलाई प्राधिकरणले ताकेता गरेको छ ।
मंसिर पहिलो हप्ता नै पत्र पठाए पनि हालसम्म ६ वटा उद्योगले मात्रै दोस्रो किस्ता बुझाएका छन् । बाँकी १५ उद्योगले अझै रकम बुझाएका छैनन् । यसअघि गत कात्तिक ४ गते प्राधिकरणले बक्यौता नतिर्ने २५ ठूला उद्योगको लाइन काटेको थियो ।
लाइन काटिएपछि करिब एक महिनाको अवधिमा उद्योगहरूले पहिलो किस्ता बुझाउँदै लाइन जोडाएका थिए ।