क्रिप्टो बजारमा भूकम्प : बिटकोइन ८६ हजार डलरभन्दा तल, बजार पूँजीकरण ३ ट्रिलियनमुनि

काठमाडौं । क्रिप्टोकरेन्सी बजारमा मंगलबार ठूलो हलचल मच्चिएको छ । बिटकोइनदेखि अन्य प्रमुख क्रिप्टोकरेन्सीसम्म २४ घण्टामा ४ प्रतिशतभन्दा बढी गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

यससँगै क्रिप्टोको विश्वव्यापी बजार पूँजीकरण (ग्लोबल मार्केट क्याप) पनि २४ घण्टामा ३.७५ प्रतिशतले घटेको छ । यस गिरावटपछि ग्लोबल मार्केट क्याप फेरि ३ ट्रिलियन डलरभन्दा तल झरेको छ । 

उता बिटकोइनको मूल्य पनि ४ प्रतिशतभन्दा बढी घट्दै ८६ हजार डलरभन्दा तल पुगेको छ ।

सोमबार बिहान ८:३० बजे क्रिप्टोकरेन्सीको ग्लोबल मार्केट क्याप ३.०५ ट्रिलियन डलर थियो । मंगलबार बिहान ८ः३० बजे यो घटेर २.९३ ट्रिलियन डलरमा सीमित भयो । यसरी ०.१२ ट्रिलियन डलर (करिब १७.६ लाख करोड रुपैयाँ) बराबरको गिरावट आएको छ । पछिल्ला दुई हप्तामा क्रिप्टोकरेन्सीमा आएको यो सबैभन्दा ठूलो गिरावट हो । 

यस गिरावटका कारण क्रिप्टोकरेन्सीको ‘फियर एन्ड ग्रिड इन्डेक्स’ २१ मा पुगेको छ । यो सूचक १०० को तुलनामा जति कम हुन्छ, मानिसहरूमा क्रिप्टोप्रति त्यति नै डर बढी हुन्छ। 

पछिल्लो समय बिटकोइनसहित प्रायः सबै क्रिप्टोकरेन्सीमा गिरावट देखिँदै आएको छ । पछिल्ला २४ घण्टामा बिटकोइनको मूल्य ४.४७ प्रतिशत घटेर करिब ८५ हजार ७०० डलरमा पुगेको छ । पछिल्ला ७ दिनमा बिटकोइन ५ प्रतिशतभन्दा बढीले घटिसकेको छ । दुई महिनाअघि अक्टोबरमा बिटकोइनको मूल्य करिब १ लाख २५ हजार डलरसम्म पुगेको थियो । त्यसयता हालसम्म ठूलो गिरावट आएको छ ।

बिटकोइनबाहेक अन्य क्रिप्टोकरेन्सीमा पनि ठूलो गिरावट देखिएको छ । पछिल्ला २४ घण्टामा इथेरियम ४ प्रतिशतभन्दा बढी घट्दै ३ हजार डलरभन्दा तल झरेको छ । रिपलमा पनि उल्लेखनीय कमी आएको छ । २४ घण्टामा रिपलको मूल्य ६ प्रतिशतभन्दा बढी घटेर २ डलरभन्दा तल पुगेको छ । हाइपरलिक्विड क्रिप्टो पनि ८ प्रतिशतभन्दा बढी घटेर करिब १.५० डलरमा पुगेको छ । पाई नेटवर्कमा पनि करिब ५ प्रतिशतको गिरावट आएको छ ।

क्रिप्टोकरेन्सीमा आएको गिरावटलाई फेडरल रिजर्भसँग जोडेर हेरिएको छ । केही विज्ञहरूका अनुसार क्रिप्टोकरेन्सीमा तीव्र विक्री र लिक्विडेसन बढेकाले मूल्यमा ठूलो गिरावट आएको हो । यसबाहेक केही जानकारहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिले पनि क्रिप्टोकरेन्सी बजारमा असर पारिरहेको छ, जसका कारण मूल्य घटिरहेको छ ।

Share News