विदेशमा पढ्ने विद्यार्थीहरूले ४ महिनामा लगे ४२.९६ अर्ब रुपैयाँ

काठमाडौं । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ४ महिनामा शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड रुपैयाँ बराबर रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ३२ अर्ब २२ करोड रुपैयाँ थियो । अघिल्लो आवको तुलनाका चालु आवको ४ महिनामा करिब १० अर्ब रुपैयाँ बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो ।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५५ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो । 

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८.१ प्रतिशतले वृद्धि भई १९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय ३२ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको थियो । 

Share News