दमौलीमा निर्माणाधीन ४ लेनको पुल वैशाखभित्र सम्पन्न गर्ने, ७४ प्रतिशत प्रगति

काठमाडौं । मुग्लिन-पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन ४ लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका-४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।

उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको जानकारी दिए । उनका अनुसार पुल निर्माण तीव्र गतिमा अगाडि बढाइएको छ । 

३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको उनले बताए । सूचना अधिकारी पाण्डेका अनुसार पुल निर्माणका लागि २०७९ साल साउन २६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । 

उनले भने, ‘पुल निर्माणको म्याद सकिएपछि पुनः म्याद थपिएको छ । थप भएको म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ ।’

उक्त पुलमा ७० प्रतिशत वित्तीय प्रगति भएको छ । ३१५ मिटर लामो पुलमा ६ वटा स्पान रहनेछ । पुलको वारिपारि २/२ ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेको छ । उनका अनुसार फाउन्डेसनदेखि सुपर स्ट्रक्चरको काम सकिएको छ । 

‘मिडल स्पान २ वटा कङ्क्रिट नेचर आर्क ब्रिज हो । त्यसको काम पनि भइरहेको छ,’ उनले भने । १ अर्ब २१ करोड रुपैयाँ भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्क्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको पाण्डेको भनाइ छ ।

सूचना अधिकारी पाण्डेले मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत पूर्वीतर्फ ८८ प्रतिशत प्रगति भएको जानकारी दिए । कालोपत्र सबै सकिएको बताउँदै उनले सडकका अन्तिम चरणका काम मात्र बाँकी रहेको उल्लेख गरे । पुलको पहुँच मार्गको काम भने बल्ल सुरु भएको पाण्डेले बताए । 

निर्माण कम्पनी व्यवस्थापक दिनेश कुमार श्रेष्ठले निर्धारित मिति अगावै पुल निर्माणको काम सकिने जानकारी दिए । उनका अनुसार असार १९ गतेसम्म म्याद रहे पनि वैशाखमा पुल निर्माणको काम सक्ने गरी काम भइरहेको छ । पुल निर्माणका लागि हाल दैनिक १५० कामदार खटाइएको छ । 

६ वटा स्पानमध्ये २/२ स्पानको काम सकिएको र बीचको २ वटा स्पान ६३ मिटरको काम भइरहेको उनले जानकारी दिए । पुलको दायाँबायाँ ५ सय मिटर पहुँच सडक निर्माण गर्न बाँकी रहेको उनले उल्लेख गरे । 

उनले भने, ‘बायाँतर्फ व्यक्तिका घर परेकाले मुआब्जा दिनुपर्ने र दायाँतर्फ सडक डिभिजन कार्यालयको भवन रहेकाले भवन भत्काएर पहुँच सडक निर्माण गर्नुपर्ने अवस्था छ ।’

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल ४ लेनको हुनेछ । हाल नदीमाथि रहेको २ लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ । 

Share News