केन्द्रीय सदस्य पदका लागि उम्मेदवार दिँदै झाँक्रीले गरिन् यस्तो अनुरोध

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको नेतृत्व चयन प्रक्रियाअन्तर्गत रामकुमारी झाँक्रीले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी मनोनयन गरेकी छन् । 

उनले आफ्नो उम्मेदवारीमार्फत व्यक्तिगत उपलब्धीभन्दा बढी देश, पार्टी र पार्टी नेतृत्वका लागि योगदान दिन इच्छुक भएको स्पष्ट पारेकी छन् ।

उम्मेदवार झाँक्रीले आफ्नो सम्बोधनमा भनिन्, ‘मैले उम्मेदवारी दिएको कारण आफूले के पाउने भन्नेभन्दा पनि म देश र पार्टीका लागि के योगदान गर्न सक्छु भन्ने सोच हो । यही भावना बोकेर मआफ्नो पार्टीमा फर्केकी हुँ । पार्टीले जुनसुकै मोर्चा वा जोखिमपूर्ण जिम्मेवारी दिए पनि त्यसलाई बहन गर्न म सधैं तयार छु ।’

उनले आफना पछिल्ला दिनहरूलाई अत्यन्तै रोमाञ्चक र अविस्मरणीय भएको अनुभव सुनाउँदै सबै नयाँ र पुराना कमरेडहरूसँगको भेटघाटलाई विशेष रूपमा स्मरण गरेकी छन् । 

‘नयाँ–पुराना सबै कमरेडहरूसँगको पुनर्मिलनले एक प्रकारको आत्मीयता र ऊर्जा थपेको छ । यहाँहरूको माया, स्नेह र भरोसा देख्दा लाग्छ, मैले साँच्चिकै धेरै कुरा मिस गरेको रहेछु। अब त्यो भरोसा मतमार्फत् विश्वासमा रूपान्तरण हुने आशा लिएको छु,’ उनले भनिन् ।

झाक्रीले सबै प्रतिनिधि कमरेडहरूलाई पार्टी र देशको हितलाई प्राथमिकतामा राखेर मतदान गर्न आग्रह गर्दै भनिन्, ‘मेरो विनम्र अनुरोध छ, पहिले पार्टी जोगाऔं, देशको भरोसा बचाऔँ। मेरो उम्मेदवारी यही मूल्य र उद्देश्यको प्रतिबिम्ब हो । मलाई दिने तपाईंहरूको अमूल्य मत नै त्यो विश्वासको प्रतिक हुनेछ ।

Share News