काठमाडौं । ज्योति विकास बैंकको रुपनी शाखाका दुई कर्मचारीहरूलाई सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालक, उनका परिवार सदस्य र सहयोगीहरूले नियोजित रूपमा दुर्व्यवहार गर्दै ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको घटनाप्रति बैंकले घोर भर्त्सना जनाएको छ ।
बैंकका अनुसार कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा छलफलका लागि ऋणीसँग टेलीफोनमार्फत पूर्व संवाद भएपश्चात क्षेत्रीय कार्यालय बर्दिबासका कर्मचारीहरू फर्म पुगेका थिए । त्यहाँ कर्मचारीहरूलाई घण्टौंसम्म नियन्त्रणमा राखी धम्की दिइएको र धितो लिलामी स्थगनसम्बन्धी पत्र उपलब्ध नगराएमा ज्यान लिने चेतावनी दिएको बैंकले जनाएको छ । बैंकले यस क्रममा सुरक्षा निकायबाट कुनै सहयोग नपाएको पनि जनाएको छ ।
ज्योति विकास बैंकले आफ्ना कर्मचारीहरू राष्ट्रिय स्तरको विकास बैंकमा कार्यरत व्यवसायिक साधक भएको र नीति तथा निर्देशनको पालना गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको स्मरण गराउँदै, यस्ता आपराधिक गतिविधि प्रति घोर निन्दा व्यक्त गरेको छ ।
बैंकले अपराधीहरूलाई कानुनी दायरामा ल्याई कडा कारवाही अघि बढाइएको र भविष्यमा पनि यस्ता घटनाविरुद्ध सदैव कडा उभिने प्रतिबद्धता जनाएको छ ।