काठमाडौं । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा सोमबार बैंकमा आयोजित कार्यक्रमकाबीच गभर्नर कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी र आईएफसी साउथ एसियाका व्यवस्थापक ग्रेगरी स्मिथले समझदारीपत्रमा हस्ताक्षर गरे ।
समझदारीअनुसार आईएफसीले नेपालमा जलवायु वित्त विकासका लागि राष्ट्र बैंकलाई प्राविधिक सहायता उपलब्ध गराउनेछ । यस अन्तर्गत जलवायु वित्तसम्बन्धी रणनीति र यसको कार्यान्वयनको मार्गचित्र तयार गरिनेछ । साथै, चरणबद्ध रूपमा कार्यान्वयनका लागि आवश्यक ढाँचा निर्माण गर्ने योजना रहेको छ ।
परियोजनामा राष्ट्र बैंक र समग्र वित्तीय क्षेत्रको क्षमता अभिवृद्धिका लागि तालिम र क्षमता विकास कार्यक्रमहरू सञ्चालन हुने जनाइएको छ । यसबाट नेपालमा जलवायुसम्बन्धी वित्तीय जोखिलाई सम्बोधन गर्दै जलवायु अनुकूलनका क्षेत्रमा वित्तीय स्रोत परिचालन प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ । परियोजना सन् २०२८ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ ।
डेपुटी गभर्नर मिश्रले आईएफसी र राष्ट्र बैंकबीचको सहकार्यले नेपालको वित्तीय क्षेत्र सुदृढ पार्ने र जलवायु वित्तको नीतिगत विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आईएफसी व्यवस्थापक स्मिथले पनि साझेदारीबाट परिणाममुखी उपलब्धि हासिल हुने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेल, निर्देशक गोविन्दप्रसाद नागिला, गभर्नर कार्यालयका निर्देशक सुमन न्यौपाने, आईएफसीका प्रतिनिधि रथनिजा अरन्दरालगायत अधिकारीहरूको उपस्थिती थियो ।