यहूदी-विरोधी आतंकको कहर : बोन्डी बीच आक्रमणले अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय दबाब

काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा भएको आक्रमणपछि इजरायल र अरब देशहरूबाट कडा प्रतिक्रिया आएको छ । यो आक्रमण यहूदी समुदायको एक कार्यक्रमको दौरान भएको थियो, जसमा १५ जनाको मृत्यु भएको छ ।

अष्ट्रेलियाली प्रहरीले यसलाई यहूदी समुदायलाई लक्षित गरेर गरिएको ‘आतंकवादी हमला’ भनेको छ ।

न्यू साउथ वेल्सका प्रहरी कमिसनर मेल ल्यान्यानले बताएअनुसार दुबै बन्दुकधारी ५० वर्षीय बुवा र उनका २४ वर्षीय छोरा थिए । स्थानीय मिडियामा उनीहरूको नाम साजिद र नवीद अकरम भनिएको छ ।

Bondi Beach terrorist attack death toll climbs | The Australian

इजरायली अखबार ‘हारेट्स’ का अनुसार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस आक्रमणलाई लिएर अष्ट्रेलियाका नीतिहरूले ‘यहूदी–विरोधी आगोमा घ्यू हाल्ने’ काम गरिरहेको आरोप लगाएका छन् ।

नेतन्याहूले भनेका छन्, ‘यहूदी–विरोध एक क्यान्सर हो, जुन फैलिन्छ जब नेताहरू मौन बस्छन् ।’

‘केही महिना अघि मैले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई पत्र लेखेको थिएँ । मैले उनलाई लेखेको थिएँ कि तपाईंको नीति यहूदी–विरोधी आगोमा घ्यू हाल्छ, जसले तपाईंको सडकमा यहूदीहरू प्रतिको घृणा बढाउँछ,’ उनले थपे ।

यहूदी–विरोधीहरू विरुद्ध कमजोर दृष्टिकोणको सट्टा उनीहरूलाई कडाइका साथ सम्हाल्नुपर्ने उनको भनाइ छ । 

त्यसैगरी, इजरायलका राष्ट्रपति इसाक हरजोगले यस आक्रमणलाई ‘क्रूर’ भनेका छन् । उनले भनेका छन्, ‘हामीले बारम्बार अष्ट्रेलियाली सरकारलाई कारवाही गर्न र अष्ट्रेलियाली समाजमा फैलिएको यहूदी(विरोधी भावनासँग लड्न आग्रह गरेका छौं ।’

इजरायली मिडियाले बोन्डी बीच आक्रमणलाई व्यापक रूपमा रिपोर्ट गरेको छ र अष्ट्रेलियाको कडा आलोचना गरेको छ ।

इजरायली मिडियाले के भने ?

‘द यरूशलम पोस्ट’ र ‘हारेट्स’ जस्ता इजरायली अखबारहरूले यहूदी समुदायमा भएको आक्रमणको विषयमा अष्ट्रेलियाको आलोचना गरेका छन् ।

‘द यरूशलम पोस्ट’ले सोमबार आफ्नो सम्पादकीयमा यो लेखेको छ, शीर्षक ः ‘बोन्डी आक्रमणले बढ्दो यहूदी–विरोधको सामना गर्न अष्ट्रेलियाको असफलता देखाउँछ ।’

अखबारले लेखेको छ, ‘बोन्डी बीचमा हनुक्का फेस्टिभलको दौरान भएको भयानक आतंकवादी आक्रमणले यो भ्रम हटाउनु पर्छ कि अष्ट्रेलिया लोकतान्त्रिक विश्वमा फैलिरहेको हिंसात्मक भावनाबाट अछुतो छ ।’

‘यो अचानक घटेको घटना वा आन्तरिक ‘यहूदी मुद्दा’ थिएन । यो सार्वजनिक सुरक्षा र सामाजिक एकतालाई लक्षित गरेको हमला हो । जब यहूदीहरूलाई सार्वजनिक स्थलमा आफ्नो धार्मिक उत्सव मनाउन निशाना बनाइन्छ, समस्या विदेश नीति होइन । समस्या हो देशको आफ्नै आधारभूत जिम्मेवारी पूरा नगर्नू,’ अखबारले थपेको छ ।

अखबारका अनुसार गत एक वर्षमा अष्ट्रेलियामा १ हजार ६०० भन्दा बढी यहूदी–विरोधी घटनाहरू दर्ता भएका थिए, जसमा दर्जनौं आक्रमण र तोडफोड र सयौं अन्य अपमानजनक वा धम्कीपूर्ण घटना समावेश छन् ।

साथै, ‘द यरूशलम पोस्ट’ले बोन्डी बीच आक्रमणसँग सम्बन्धित सामाजिक सञ्जालमा फैलिरहेको ‘गलत जानकारी’ को विषयमा अर्को रिपोर्ट पनि प्रकाशित गरेको छ ।

‘हारेट्स’ले ‘अष्ट्रेलियामा यहूदीहरूविरुद्ध पहिलो घातक हमला दुई वर्षको अभूतपूर्व यहूदी–विरोध पछि’ शीर्षकमा रिपोर्ट प्रकाशित गरेको छ ।

अखबारले लेखेको छ, ‘बोन्डी बीच हमला त्यस ठूलो रिपोर्ट आएको एक हप्ता पछि भएको हो, जसमा इजरायलमा ७ अक्टोबरको हमलापछि दुई वर्षमा अष्ट्रेलियामा यहूदी–विरोधी घटनाहरू बढेको तथ्य उल्लेख गरिएको थियो ।’

अरब–मुस्लिम देशहरूमा प्रतिक्रिया

साउदी अरबले बोन्डी बीचमा भएको ‘आतंकवादी हमला’को कडा निन्दा गरेको छ । यस आक्रमणमा प्रतिक्रिया दिँदै साउदी विदेश मन्त्रालयले आइतबार बयान जारी गरेको छ ।

साउदी अरबले आफ्नो बयानमा हिंसा, आतंकवाद र अतिवादको कडा विरोध गरेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश मन्त्रालयले बोन्डी बीच आक्रमणको कडा निन्दा गर्दै भनेका छन्, ‘हिंसा र आतंकवादका सबै रूपहरूलाई हामी अस्वीकार गर्छौं ।’

मुस्लिम वल्र्ड लीगले पनि सिड्नीमा भएको यस आक्रमणको निन्दा गरेको छ ।

इस्लामी संगठनले आफ्नो महासचिव मोहम्मद बिन अब्दुलकरीम अल–ईशाको हवाला दिँदै मुस्लिमहरू आतंकवाद र हिंसाका सबै रूपहरू अस्वीकार गर्ने बताएको छ ।

जोर्डनले अष्ट्रेलियालाई ‘मैत्रीपूर्ण देश’ भन्दै बोन्डी बीच आक्रमणको निन्दा गरेको छ ।

जोर्डनको विदेश मन्त्रालयका प्रवक्ता फुआद अल–मजालीले हिंसा र आतंकवादका सबै कृत्यहरू अस्वीकार रहेको बताएका छन् ।

कतारको विदेश मन्त्रालयले आक्रमणको निन्दा गरेको छ र प्रभावित परिवारप्रति संवेदना व्यक्त गरेको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले बोन्डी बीच आक्रमणको निन्दा गर्दै भनेको छ, ‘आतंकवादी हिंसा र सामूहिक हत्या अस्वीकार्य छन्, चाहे यो जहाँसुकै भए पनि । यी गैरकानुनी र अपराधजन्य कृत्य हुन् ।’

अरब र मुस्लिम देशहरूको मिडियामा फरक–फरक रिपोर्टिङ देखिएको छ ।

यूएईका ‘खलीज टाइम्स’, ‘गल्फ न्यूज’ र साउदी अरबको ‘साउदी गजट’ जस्ता अखबारहरूले बोन्डी बीच घटनाको सामान्य रिपोर्ट गरेका छन् ।

साउदी अरबको ‘अरब न्यूज’ले पनि बोन्डी बीच आक्रमणको रिपोर्ट प्रकाशित गरेको  छ ।

अखबारले लेखेको छ, ‘आधिकारिक तथ्याङ्कअनुसार साउदी अरबमा २८ मिलियन मानिस बस्छन्, जसमा १ लाख १७ हजार यहूदी छन् । सरकारले जुलाईमा विशेष दूत जिलियन सेगलमार्फत् जानकारी दिँदै ७ अक्टोबर २०२३ मा इजरायलमाथि हमासको हमला भएपछिका दिनहरूमा अष्ट्रेलियामा यहूदीहरूविरुद्ध आक्रमण, तोडफोड र धम्की दिने घटनाहरू तीन गुणासम्म बढेको बताएको थियो ।’ 

‘गत वर्ष सिड्नी र मेलबर्नमा यहूदीहरूविरुद्ध भएका आक्रमणले देशलाई हल्लायो । यी सहरमा अष्ट्रेलियाका ८५ प्रतिशत यहूदी बस्छन्,’ अखबारले लेखेको छ ।

‘अरब न्यूज’ले लेखेको छ, ‘अगस्टमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजले तीमध्ये दुई आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराए र कूटनीतिक सम्बन्ध तोडिदिए ।’ 

कतारको ‘अल जजिरा’ले पनि बोन्डी बीच आक्रमणको रिपोर्ट प्रकाशित गरेको छ । अखबारले अर्को रिपोर्टमा यस आक्रमणमा धेरै देशहरूको प्रतिक्रिया पनि समावेश गरेको छ । (बीबीसीबाट अनूदित तथा सम्पादित)

Share News