काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १९औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । बैंकको साधारण सभाले १३ प्रतिशत लाभांश पारित गरेको छ ।
बैंकका सञ्चालक समिति अध्यक्ष डिमप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीलाई चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभामा पारित प्रस्तावअनुसार लाभांश यथाशीघ्र सेयरधनीलाई उपलब्ध गराइने प्रतिबद्धता बैंकले जनाएको छ । सभामा बैंकको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पनि अनुमोदन गरिएको छ ।
सभामा बैंकले हाल देशभर २८५ वटा कार्यालयमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको जानकारी गराएको छ । बैंकले दुर्गमदेखि सुगम क्षेत्रसम्म आफ्नो बृहत कार्यसञ्जाल विस्तार गर्दै आएको र वाणिज्य बैंकहरूमध्ये कृषिमा सबैभन्दा बढी लगानी गर्ने बैंकको रूपमा आफूलाई स्थापित गरेको दाबी गरेको छ ।
साधारण सभामा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधि मुक्तीरमण पराजुलीसहित ९ जना वक्ताले आफ्ना धारणा राखेका थिए भने केही सेयरधनीले लिखित मन्तव्यसमेत प्रस्तुत गरेका थिए । सेयरधनीहरूले उठाएका जिज्ञासाबारे अध्यक्ष पौडेलले स्पष्ट पार्दै प्राप्त सुझावहरूलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
सेयरधनीहरूको उल्लेख्य उपस्थिति रहेको सभामा विभिन्न निकाय तथा संस्थाका प्रतिनिधि, बैंकका उच्च व्यवस्थापन, कर्मचारी र सञ्चालक समिति सदस्यहरू सेवन्तक पोखरेल, डा. हरिबहादुर केसी, गोविन्दप्रसाद भट्टराई, संजीव पौडेल, विनोदकुमार गुरागाईं, रीता सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिति रहेको थियो । साधारण सभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।