कर्मचारीमाथि भएको आक्रमणले सुरक्षा र मनोबलमा असर पुर्यायो : एनआईसी एशिया बैंक कर्मचारी संघ

काठमाडौं । ज्योति विकास बैंकका कर्मचारी कर्जा असुलीको क्रममा सार्वजनिक स्थलमा ऋणीबाट अमानवीय, अपमानजनक तथा गैरकानुनी व्यवहारको सिकार भएका घटनाप्रति एनआईसी एशिया बैंक कर्मचारी संघले गम्भीर आपत्ति जनाएको छ ।

कानुनी दायराभित्र कर्तव्य निर्वाह गरिरहेका बैंक कर्मचारीमाथि हुने हिंसा र सार्वजनिक अपमान सम्पूर्ण बैंकिङ प्रणाली, विधिको शासन र वित्तीय अनुशासनमाथिको प्रत्यक्ष आक्रमण भएको संघले जनाएको छ । 

‘बैंकिङ सेवा कानुनद्वारा संरक्षित सार्वजनिक सेवा भएकाले कर्जा असुली कार्य बैंकिङ प्रणालीको अभिन्न अङ्ग हो । कानुनी प्रक्रिया अन्तर्गत हुने कर्जा असुली कार्यलाई डर, धम्की, दुर्व्यवहार वा हिंसाबाट अवरुद्ध गर्नु दण्डनीय अपराध हो,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यस्ता घटनामा मौन रहनु वित्तीय अराजकतालाई प्रोत्साहन गर्नु सरह हुने संघले जनाएको छ । बैंकका कर्मचारीमाथि आक्रमण भएको घटनाले बैंक कर्मचारीहरूको सुरक्षा, मनोबल र कार्य वातावरणमा गम्भीर असर पुर्याउने र सर्वसाधारणको बैंकिङ प्रणालीप्रतिको विश्वास कमजोर बनाउने जोखिम बढेको संघको टिप्पणी छ ।

विगतमा पनि बैंकिङ सेवामा आबद्ध कर्मचारी लक्षित आक्रमण हुँदै आएको स्मरण गराउँदै, समयमै सम्बन्धित निकायको कडा हस्तक्षेप नभए बैंकिङ सेवा अवरुद्ध हुने अवस्था सिर्जना हुन सक्ने संघले चेतावनी दिएको छ ।

एनआईसी एशिया बैंक कर्मचारी संघले अर्थ मन्त्रालय, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी, नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल तथा बैंक तथा वित्तीय संस्था परिसंघ लगायत सबै सरोकारवाला निकायलाई तत्काल प्रभावकारी हस्तक्षेप गर्न आग्रह गरेको छ । साथै संघले कर्मचारी सुरक्षाका लागि स्पष्ट सुरक्षा मापदण्ड, फिल्डमा खटिँदा प्रहरी समन्वय र जोखिमयुक्त कार्यमा संस्थागत संरक्षणको सुनिश्चितता गर्न माग गरेको छ ।

दोषी पहिचान गरी कानुनअनुसार कडा कारबाही गर्न, बैंक कर्मचारीहरूको भौतिक तथा मानसिक सुरक्षा सुनिश्चित गर्न तथा भविष्यमा यस्ता घटना दोहरिन नदिन शून्य सहनशीलताको नीति अपनाउन संघले आग्रह गरेको छ ।

संघका अध्यक्ष सुमन थापाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बैंकिङ सेवामाथि हुने कुनै पनि प्रकारको धम्की, दुर्व्यवहार वा हिंसा अस्वीकार्य छ। बैंक कर्मचारीहरू श्रमिक हुन् र उनीहरू कुनै अपराधी होइनन् । कानुनको शासन, संस्थागत मर्यादा र कर्मचारीको गरिमाको संरक्षण सबैको साझा दायित्व हो ।

Share News