काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहका पदाधिकारी पदका लागि हालसम्म सार्वजनिक भएका नामहरूमा बागमती प्रदेशको प्रभाव देखिएको छ ।
स्वयं पोखरेल बागमती प्रदेशका प्रभावशाली नेता हुन् । जसका कारण उनको प्यानलमा यस प्रदेशका नेताहरूको वर्चस्व देखिनु स्वाभाविक मानिएको एक उम्मेदवारले जानकारी गराए ।
पोखरेल प्यानलअन्तर्गत उपाध्यक्ष पदका उम्मेदवार बिन्दा पाण्डे र अरुण नेपाल दुवै बागमती प्रदेशकै नेताहरू हुन् । पाण्डे नुवाकोटबाट प्रतिनिधित्व गर्छिन् भने नेपाल काभ्रेपलाञ्चोकका नेता हुन् ।
महासचिव पदका उम्मेदवार चितवनका सुरेन्द्र पाण्डे पनि यसै प्यानलमा छन् । संगठन र वैचारिक राजनीतिमा अनुभव भएका पाण्डेलाई पोखरेल समूहले महत्त्वपूर्ण जिम्मेवारीका लागि अघि सारेको छ ।
त्यस्तै, पत्रकारिताबाट एमालेको राजनीतिक नेतृत्वमा उदाएका गोकुल बाँस्कोटा सचिव पदका उम्मेदवार बनेका छन् । काभ्रेपलाञ्चोकका स्थायी बासिन्दा बाँस्कोटा पनि बागमती प्रदेशकै प्रतिनिधि हुन् । दोलखाकी रचना खड्का सचिव पदकी उम्मेदवारका रूपमा पोखरेल प्यानलमा समेटिएकी छन् ।
रोचक रूपमा, केपी शर्मा ओली नेतृत्वको समूह छोडेर पोखरेल प्यानलमा सचिव पदका उम्मेदवार बनेका कृष्णगोपाल श्रेष्ठ पनि काठमाडौंका स्थायी बासिन्दा हुन् ।
पदाधिकारी तहमा बागमती प्रदेशका नेताहरूको बाक्लो उपस्थितिले पार्टीभित्र क्षेत्रीय सन्तुलन र समावेशिताबारे बहस चर्किने देखिएको छ । आगामी निर्वाचन परिणामले यो बहसलाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ ।