चार महिनामा चालु खाता २७९ अर्ब र शोधनान्तर ३१८ अर्ब रुपैयाँ बचतमा

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को ४ महिनामा देशको चालु खाता २७९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १४७ अर्ब ७८ करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब १० करोड डलरले बचतमा रहेको चालु खाता चालु आर्थिक वर्षको समीक्षा अवधिमा १ अर्ब ९९ करोड डलरले बचतमा पुगेको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब २१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब ४७ करोड रुपैयाँ मात्र थियो । यसैगरी, समीक्षा अवधिमा २ अर्ब ४९ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

यसैबीच, समीक्षा अवधिमा शोधनान्तर स्थिति ३१८ अर्ब ४० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २०५ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ५३ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोड डलरले बचतमा पुगेको छ ।  

Share News