सर्वोत्तम सिमेन्टको २० प्रतिशत लाभांश पारित

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको सातौँ वार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ । ७६ प्रतिशतभन्दा बढी सेयरधनीको उपस्थिति रहेको सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्तावित २० प्रतिशत लाभांश पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू अनुमोदन गरेको छ । साथै, उक्त आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

पारित प्रस्तावअनुसार सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ । सभाले लेखापरीक्षक नियुक्ति, बोनस सेयर वितरणपश्चात प्रबन्धपत्र तथा नियमावली संशोधनलगायतका सामान्य तथा विशेष प्रस्तावहरू समेत स्वीकृत गरेको छ ।

सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले सर्वोत्तम सिमेन्ट भविष्यमा अझ सुदृढ बन्दै देशकै अग्रणी सिमेन्ट कम्पनी बन्ने लक्ष्यका साथ अघि बढिरहेको बताए । उनले सेयरधनीलाई अझ बढी लाभांश दिन सकिने उपायमा कम्पनी निरन्तर क्रियाशील रहेको पनि जानकारी गराए ।

अध्यक्ष न्यौपानेले सर्वोत्तम सिमेन्ट नेपालमै पहिलो पटक अत्याधुनिक युरोपियन भिआरएम प्रविधिबाट सिमेन्ट उत्पादन गर्ने उद्योग भएको उल्लेख गरे । हाल कम्पनीसँग प्रतिदिन ३ हजार मेट्रिक टन क्षमताको सिमेन्ट प्लान्ट र ३ हजार मेट्रिक टन क्षमताको क्लिंकर प्लान्ट सञ्चालनमा रहेको उनले बताए ।

Share News