काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको सीमाभन्दा बढी सेयर धारण गरेका लगानीकर्तालाई सीमा कायम गर्न समय दिएको छ । बैंक तथा वित्तीय संस्थामा निर्धारित सीमाभन्दा बढी लगानी गरेका सेयरधनीले २०८७ असार मसान्तभित्र आफ्नो लगानी तोकिएको सीमाभित्र ल्याइ सक्नुपर्नेछ ।
विसं २०८७ असार मसान्तभित्र अनिवार्य रूपमा लगानी सीमा कायम गर्न नसकेमा कारबाही गर्ने राष्ट्र बैंकले चेतावनी दिएको छ ।
राष्ट्र बैंकका अनुसार कुनै एक बैंक तथा वित्तीय संस्थामा चुक्ता पुँजीको अधिकतम १५ प्रतिशतसम्म सेयर लगानी गर्न पाइन्छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरूमा चुक्ता पुँजीको अधिकतम १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था छ । साथै ‘घ’ वर्गका वित्तीय संस्थाको हकमा भने उक्त सीमा क्रमशः २५ प्रतिशत र १० प्रतिशत तोकिएको छ । यद्यपि, सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनीमा संस्थापकको रूपमा गर्ने लगानीमा भने यो सीमा लागू हुने छैन ।
संस्थापक सेयरधनीहरूले हकमा तोकिएको सीमाभित्र सेयर स्वामित्व कायम नगरेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट वितरण गरिने नगद लाभांश र बोनस सेयर रोक्का गरिनेछ । साथै, त्यस्ता सेयरधनीलाई सम्बन्धित संस्थाबाट जारी हुने हकप्रद सेयरमा सहभागी हुन समेत रोक लगाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।
राष्ट्र बैंकले आवश्यक ठानेमा त्यस्ता बैंक तथा वित्तीय संस्थालाई गाभ्न वा गाभिन निर्देशन दिन सक्ने व्यवस्था पनि गरेको छ । तर, सेयरधनीले चाहेमा हकप्रद सेयरको हक हस्तान्तरण गर्न भने कुनै अवरोध नहुने राष्ट्र बैंकले स्पष्ट गरेको छ ।