काठमाडौं । कुमारी बैंकले दिगो विकास लक्ष्य हासिल गर्न र सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्न ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ ।
यस योजनाले सार्वजनिक यातायात सेवा प्रवाहमा आवद्ध व्यक्तिहरूलाई विद्युतिय बस र माइक्रोबस खरिदका लागि बैंकबाट आकर्षक ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउनेछ । साथै, ऋणीले भुक्तानी गर्नुपर्ने डाउन पेमेंटमा परियोजनाबाट निर्धारित अनुदान समेत प्रदान गरिनेछ ।
बैंकले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट लगायतका संस्थासँगको साझेदारीमा सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजनालाई योजना अन्तर्गत समावेश गरेको छ । यसका अतिरिक्त, हाल इन्धनमा आधारित सार्वजनिक सवारी साधन सञ्चालन गर्ने व्यक्तिहरूले पनि आफ्ना सवारी साधन विद्युतीय सवारी साधनमा परिवर्तन गर्दा थप अनुदान पाउनेछन् ।
कुमारी बैंकका दिगो बैंकिङ विकास विभागका प्रमुख अर्पण पौडेलका अनुसार यस योजनाबाट ऋणीको सुरुमा आवश्यक पूँजी व्यवस्थापन सहज हुने मात्र होइन, सार्वजनिक यातायातमा विद्युतीय सवारी साधन प्रयोग बढाएर प्रदूषण कम गर्ने बहुआयामिक लाभ पनि हासिल हुनेछ ।
विगत २४ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ इकाई र ३१७ एटिएममार्फत आफ्ना ग्राहकलाई आधुनिक तथा प्रभावकारी सेवाहरू उपलब्ध गराउँदै आएको छ र आगामी दिनमा पनि सरल, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।