काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आइतबार स्थापनाको आठ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले नवौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले डिजिटल माध्यमबाट बीमालेख धितो राखी ऋण लिन सकिने ‘ई–पोलिसी लोन’ सेवा सुरु गरेको छ । उक्त सेवाको कम्पनीका सञ्चालकहरू विरेन्द्र जङ्ग पाण्डे, सम्झना अर्याल, सुसन शेरचन, शम्सेर पराजुली र भावना बलायर, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं तथा ब्रान्ड एम्बेसेडर मनोज गजुरेलले संयुक्त रूपमा शुभारम्भ गरेका हुन् ।
उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत प्रसाईंले ‘ई–पोलिसी लोन’लाई डिजिटल रूपान्तरणको महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गर्दै आधुनिक प्रविधि अपनाएर बीमा क्षेत्रलाई अगाडि बढाउने लक्ष्य रहेको बताए । उनले जुनसुकै स्थानबाट सहज रूपमा सेवा लिन सकून् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको स्पष्ट पारे ।
‘ई–पोलिसी लोन’ सेवा लिन बीमालेख कम्तीमा तीन वर्ष पूरा भई तीन वर्षको बीमाशुल्क भुक्तानी गरिएको तथा बीमालेख चालु अवस्थामा रहेको हुनुपर्नेछ । साथै, केवाईसी तथा बैंक खाता अद्यावधिक भएको हुनुपर्ने कम्पनीले जनाएको छ । यो सेवा प्रभु महालक्ष्मी लाइफको वेबसाइट तथा मोबाइल एप दुवैमार्फत उपलब्ध छ ।
कम्पनीले ‘ई–पोलिसी लोन’सँगै एआई च्याटबट, डायनामिक क्यूआर तथा लग–इन पोर्टल पनि सञ्चालनमा ल्याएको जनाएको छ ।
वार्षिकोत्सवकै अवसरमा प्रभु महालक्ष्मी लाइफले आइतबार तिखेदेवलमा निःशुल्क मुटुरोग जाँच शिविर सञ्चालन गरेको छ । शिविरबाट ५०० भन्दा बढी स्थानीय नागरिक लाभान्वित भएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर १४ को कार्यालय परिसरमा सञ्चालन गरिएको शिविरमा ओम अस्पतालका विशेषज्ञ डा. दिवाकर पराजुलीको नेतृत्वमा रहेको १० सदस्यीय चिकित्सक टोलीले मुटुको स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा सहभागीहरूलाई निःशुल्क औषधि पनि वितरण गरिएको कम्पनीले जनाएको छ ।
यसैबीच, प्रभु महालक्ष्मी लाइफले देशभर रहेका आफ्ना ११५ शाखा तथा उपशाखा कार्यालयमार्फत विभिन्न कार्यक्रम आयोजना गरी नवौँ वार्षिकोत्सव मनाएको छ ।