काठमाडौं । इन्फोरमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह २०२५ सम्पन्न भएको छ । बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त इन्फोरमेटिक्स कलेज पोखराले वार्षिक दीक्षान्त समारोह गत शुक्रबार पोखरास्थित ग्रान्ड होटेलमा आयोजना गरेको हो ।
समारोहमा स्नातक तहअन्तर्गत बीए (अनर्स) बिजनेस प्रशासन तथा बीएससी (अनर्स) कम्प्युटिङ कार्यक्रम सफलतापूर्वक पूरा गरेका विद्यार्थीहरू दीक्षित भएका थिए । दीक्षान्त समारोहमा विद्यार्थीका अभिभावकहरूको उल्लेखनीय र उत्साहपूर्ण उपस्थिति रहेको थियो ।
इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित कलेजले आफ्नो परम्पराअनुसार यस वर्ष पनि उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गर्दै सम्मान गरेको छ । उक्त छात्रवृत्ति यस वर्ष मनिष धमलालाई प्रदान गरिएको हो । उनले इस्लिङ्टन कलेजमा एमएससी आईटी अध्ययनलाई निरन्तरता दिनेछन् । छात्रवृत्तिसँगै उनलाई इनोभेट नेपाल ग्रुपअन्तर्गतका संस्थामध्ये कुनै एकमा कार्यानुभव प्राप्त गर्ने अवसरसमेत प्रदान गरिनेछ ।
समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीलगायत शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । वक्ताहरूले स्नातक विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सीपमूलक तथा अन्तर्राष्ट्रियस्तरको शिक्षाको महत्वमा जोड दिएका थिए ।
इन्फोरमेटिक्स कलेज पोखराले सूचना प्रविधि, व्यावसायिक प्रशासन तथा सम्बन्धित क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका स्नातक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय साझेदारी तथा विश्वव्यापी प्रतिस्पर्धामा विद्यार्थीलाई सक्षम बनाउने ज्ञान र सीप प्रदान गर्नु कलेजको प्रमुख प्रतिबद्धता रहेको कलेजले जनाएको छ ।