काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल समूहले आ-आफ्नो शीर्ष नेतृत्व र पदाधिकारी चयन प्रक्रियालाई अन्तिम चरणमा पुर्याएका छन् ।
ओली समूहबाट उपाध्यक्षमा पाँच जनाको नाम फाइनल भएको छ । विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उपाध्यक्षको लागि निश्चित भएका हुन् ।
खासगरी प्रदीप ज्ञवालीले प्रारम्भमा महासचिव पदको दाबी गरेका थिए, तर अन्ततः सहमति अनुसार उनी उपाध्यक्षमा सेट भएका हुन् ।
महासचिवमा शंकर पोखरेलको नाम टुंगो लागेको छ । ज्ञवालीले अन्तिम समयसम्म महासचिव पदको दाबी नछाडे पनि ओली पोखरेल समूहको सहमतिअनुसार पोखरेललाई महासचिव बनाउने निर्णय भएको हो ।
त्यसैगरी, उपमहासचिवतर्फ तीन जना पदाधिकारी चयन भएका छन् । रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम उपमहासचिवमा फाइनल भएको एक नेताले जानकारी दिए ।
ओली पक्षको सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याल दोहोरिने तय भएको ओली निकट एक नेताले बताए ।
उनका अनुसार नयाँ नेताहरू खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र डा.राजन भट्टराई ओली पक्षका उम्मेदवार बन्ने भएका छन् ।
यससँगै एमालेको आगामी नेतृत्व संरचना स्पष्ट हुँदै गएको छ जसले पार्टी भित्रको आन्तरिक सन्तुलन र सत्ता संरचनामा नयाँ रूपरेखा तय गर्ने अनुमान छ ।