एमाले महाधिवेशन : ईश्वर पोखरेल प्यानलको महासचिवमा सुरेन्द्र पाण्डेलाई अघि सारिने

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलबाट महासचिव पदमा सुरेन्द्र पाण्डेलाई अघि सारिने भएको छ ।

पार्टीभित्रको आन्तरिक छलफलपछि पोखरेल समूहले महासचिवका लागि पाण्डेलाई उम्मेदवार बनाउने तयारी गरेको स्रोतहरूले बताएका छन् । हाल उपाध्यक्ष समेत रहेका पाण्डे पार्टी संगठन, नीति निर्माण र संसदिय अभ्यासमा अनुभवी नेताका रूपमा चिनिन्छन् । 

पोखरेलपाण्डे प्यानललाई पार्टीभित्र संस्थागत नेतृत्व, सामूहिक निर्णय प्रणाली र विधानअनुसारको संगठन सञ्चालनलाई प्राथमिकता दिने समूहका रूपमा हेरिएको छ । उनीहरूले महाधिवेशनमार्फत पार्टीमा सन्तुलित नेतृत्व, स्पष्ट कार्यविभाजन र नीतिमा आधारित राजनीतिलाई अघि बढाउने प्रतिबद्धता जनाउँदै आएका छन् ।

यस महाधिवेशनमा अध्यक्ष र महासचिवसहित केन्द्रीय नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने निश्चित भएसँगै अध्यक्ष केपी शर्मा ओलि र वरिष्ठ उपाध्यक्ष पोखरेल समूहले आ–आफ्नो प्यानल घोषणा गर्ने क्रम तीव्र बनेको छ । पोखरेल प्यानलबाट अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारबारे अन्तिम टुंगो लगाउने तयारीसमेत भइरहेको बताइएको छ ।
 

Share News