बीवाइडीको हाइब्रिड पिकअप ‘सार्क- ६ ’को बुकिङ खुला, मूल्य करिब डेढ करोड

काठमाडौं । नेपालमा चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) बीवाईडीको हाइब्रिड पिकअप शार्क- ६को बुकिङ खुला भएको छ । 

नेपालका लागि बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंकका मार्केटिङ हेड समिद नकर्मीले जानकारी दिए।  

नेपालमा शार्क- ६ बीवाईडीको पहिलो हाइब्रिड गाडी हो ।

कम्पनीले गाडी ‘हाइटेक वीक’ मार्फत पहिलो पटक भित्र्याएको तर लन्च भने नगरेको जनाएको छ । यद्यपि बुकिङ भने गर्न सकिने कम्पनीको भनाइ छ ।

बीवाइडीको सार्क- ६ मा कम्पनीले ‘डीएमओ’ प्लेटफर्म प्रयोग गरेको छ । यसको अर्थ यो गाडी जस्तोसुकै कठिन सडक (अफरोड) मा पनि सहजै गुड्न सक्छ । यसमा १.५ लिटरको टर्बो फोर सिलिण्डर पेट्रोल इन्जिन र दुईवटा इलेक्ट्रिक मोटरको संयोजन छ । फ्रन्ट मोटरले १७० किलोवाट र रियर मोटरले १५० किलोवाट पावर दिन्छ । 

पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटरको संयुक्त पावर ४३० हर्सपावर रहेको छ, जुन यो सेगमेन्टकै उत्कृष्ट मानिन्छ । यसको गति पनि लोभलाग्दो छ । बीवाइडी सार्कले ० देखि १०० किलोमिटरको गति मात्र ५.७ सेकेन्डमा तय गर्न सक्छ भने यसको अधिकतम गति १६० किलोमिटर प्रतिघण्टा रहेको छ ।

हाइब्रिड मोडल भएकाले यसमा रेन्जको कुनै समस्या छैन । यसमा बीवाइडीको सुरक्षित मानिने २९.५८ किलोवाट आवरको ‘ब्लेड ब्याट्री’ प्रयोग गरिएको छ । ब्याट्री मात्र प्रयोग गरेर १०० किलोमिटर गुड्न सकिन्छ । इन्धन र ब्याट्री दुवैको प्रयोग गर्दा यो पिकअपले एक पटकमा ८४० किलोमिटर को लामो यात्रा तय गर्न सक्छ ।

कम्पनीका अनुसार यसले १०० किलोमिटर गुम्न केवल ७.५ लिटर इन्धन खपत गर्छ ।

गाडीमा एप्पल कारप्ले, एन्ड्रोइड अटो, डिजिटल की र भ्वाइस कन्ट्रोल कनेक्टिभिटी रहेको छ । वायरलेस फोन चार्जर, हेडअप डिस्प्ले र रिमोट भेहिकल मेनेजमेन्ट सुविधा रहेको छ । यस्तै, ३६० डिग्री क्यामरा सिस्टम, अफरोड क्षमता र डाइमेन्सनको समेत सुविधा रहेको छ । 

पूर्ण रूपमा ४ बाई ४ सिस्टममा आधारित यो डबल क्याब पिकअपमा बालुवा, हिलो र  हिउँ गरी ३ वटा ड्राइभ मोडहरू उपलब्ध छन् ।

साइमेक्स इंकले यसको आधिकारिक मूल्य ठ्याक्कै तोकिसकेको छैन । यद्यपि यो प्रिमियम र पावरफुल हाइब्रिड पिकअप खरिद गर्न चाहने ग्राहकले कम्तीमा १ करोड ५० लाख रुपैयाँ हाराहारी बजेट छुट्याउनु पर्ने कम्पनीको भनाइ छ ।

Share News